बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध अभियान : ८ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने

  • नमस्ते कर्णाली

  • २१, माघ २०८२

    बाँके । बाँके जिल्लामा पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले आठ हजारभन्दा बढी किशोरीलाई एचपिभी (ह्युमन पापिलोमा भाइरस) विरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले माघ २५ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने खोप अभियान अन्तर्गत जिल्लाभर ८ हजार ५८४ जना लक्षित किशोरीलाई खोप प्रदान गरिने जनाएको छ ।
    कार्यालयका अनुसार राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा भने माघ २६ गतेदेखि खोप अभियान सुरु गरिनेछ । अन्य स्थानीय तहमा भने माघ २५ गतेदेखि नै खोप कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
    यस अभियान अन्तर्गत विद्यालय जाने ६ हजार ५३१ जना र विद्यालय नजाने २ हजार ५३ जना किशोरीलाई खोप लगाइने लक्ष्य निर्धारण गरिएको छ । स्थानीय तहअनुसार राप्तीसोनारी गाउँपालिकामा ७२० जना, कोहलपुर नगरपालिकामा १ हजार ७०६ जना, बैजनाथ गाउँपालिकामा ८८० जना, खजुरा गाउँपालिकामा १ हजार १९ जना, जानकी गाउँपालिकामा ६७२ जना, नेपालगञ्ज उपमहानगरपालिकामा २ हजार ४२४ जना, डुडुवा गाउँपालिकामा ४४१ जना तथा नरैनापुर गाउँपालिकामा ७२१ जना किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
    स्वास्थ्य कार्यालयका अनुसार विशेषगरी कक्षा ६ मा अध्ययनरत छात्राहरु यस अभियानको मुख्य लक्षित समूह हुन् । साथै विद्यालय नजाने १० वर्ष उमेरका किशोरी, गत वर्ष सञ्चालन गरिएको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप लगाइनेछ ।
    स्वास्थ्यकर्मीका अनुसार एचपिभी भाइरस पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारणमध्ये एक हो । समयमै खोप लगाउन सके पाठेघरको क्यान्सरबाट जोगिन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । नेपालमा महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको भन्दै स्वास्थ्यकर्मीहरुले लक्षित समूहलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेका छन् ।
    खोप अभियानलाई प्रभावकारी बनाउन विद्यालय, स्थानीय तह, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अभिभावक तथा सरोकारवालालाई किशोरीहरुलाई नजिकको खोप केन्द्रमा पुगेर खोप लगाउन सहयोग गर्न आग्रह गरिएको छ ।
    स्वास्थ्य कार्यालयले एचपिभी खोप सुरक्षित र प्रभावकारी रहेको उल्लेख गर्दै निर्धारित मितिमा खोप सेवा लिन अनुरोध गरेको छ । अभियान सफल पार्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको कार्यालयले जनाएको छ ।

  • २२ माघ २०८२, बुधबार ०८:३० प्रकाशित

  • Nabintech