२१, माघ २०८२
सुर्खेत।उच्च अदालत सुर्खेतले चालु आर्थिक बर्षको ६ महिनामा ५३.१ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । अदालतले यो बर्षका साउनदेखि पुस मसान्तसम्म ३५९ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ । चालु आर्थिक बर्षमा दर्ता भएका र गत आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका कुल ५६४ वटा मुद्दामध्ये पुस मसान्तसम्मका २०५ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतका प्रवक्ता निमित्त रजिष्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए । उनका अनुसार मेलमिलाप हुनसक्ने प्रकृतिका १३४ मुद्दामध्ये ३२ प्रतिशत मुद्दा मेलमिलापको माध्यमबाट फछ्र्यौट गरिएको छ ।
उच्च अदालत सुर्खेत मातहत रहेका जिल्ला अदालतहरुमध्ये जाजरकोट जिल्ला अदालत जाजरकोटबाट ३४.९६ प्रतिशत, दैलेख अदालतबाट ६३.६३ प्रतिशत, रुकुम पश्चिम दालतबाट ३४.३२ प्रतिशत, सल्यान अदालतबाट ५५.२८ प्रतिशत र सुर्खेत अदालतबाट ३८.९७ प्रतिशत मुद्दा फछ्र्यौट भएको प्रवक्ता थापाले जानकारी दिए ।
थापाका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा उच्च अदालत सुर्खेत मातहतका जिल्ला अदालतहरुबाट २ करोड ५ लाख ५४ हजार ६०६ रुपैयाँ जरिवाना फछ्र्यौट भएको छ । यी अदालतबाट जम्मा जरिवाना रकममध्ये २५ करोड ७५ लाख ९२ हजार ५६५ रुपैयाँ फछ्र्यौट गर्न बाँकी रहेको उनले बताए ।
उच्च अदालत सुर्खेतका मुख्य न्यायधीश हरिप्रसाद भण्डारीले सर्वोच्च अदालतको तेस्रो पञ्चबर्षीय रणनीति अनुसार सुर्खेत उच्च अदालतले काम गरिरहेको बताए । उनले जनस्तरमा सचेतना बढेकाले पछिल्लो समय मुद्दा दर्ताको संख्या पनि बढेको भण्डारीले बताए । ‘अदालतमा मुद्दा धेरै पर्नु खुसी हुनुपर्ने विषय होइन, तर जनस्तरमा कानुनी साक्षरता बढेका कारण न्यायका लागि न्यायलयसम्म पुग्नु सकारात्मक छ ।’ उनले भने । मुख्य न्यायाधीश भण्डारीले उच्च अदालत मातहतका जिल्ला अदालतबाट कैद र जरिवानाको फछ्र्यौट अवस्था सन्तोषजनक रहेको बताए । यद्यपि उत्साहित हुनुपर्ने अवस्था भने नरहेको उनले बताए ।










