२२, माघ २०८२
बाँके।बाँके जिल्लामा आगामी निर्वाचनका लागि अस्थायी मतदातालाई लक्षित गरी तीनवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार जिल्लाका दुईवटा कारागार र एक खुला स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको हो ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नौवस्ता कारागार, निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बाँके कारागार तथा कर्मचारीका लागि रामलिला मैदानमा अस्थायी मतदान केन्द्र कायम गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अब अस्थायी मतदाताले तोकिएका यिनै अस्थायी मतदान केन्द्रबाट मात्रै आफ्नो मत जाहेर गर्न पाउने छन् ।
निर्वाचन अधिकारी शाहीले अस्थायी मतदाताको प्रारम्भिक नामावली समेत प्रकाशन गरिएको उल्लेख गर्दै मतदाता नामावली तयार पार्ने क्रममा भएका त्रुटी सच्च्याउन तथा आवश्यक परे पुनः विवरण थपघट गर्नका लागि नामावली सार्वजनिक गरिएको बताउनुभयो । “नामावलीमा देखिएका गल्ती सच्याउने र आवश्यक संशोधन गर्ने अवसर प्रदान गर्न प्रारम्भिक नामावली प्रकाशन गरिएको हो,” उहाँले भन्नुभयो ।
कानुनी व्यवस्थाअनुसार नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत कर्मचारी, नेपाल सरकार तथा प्रदेश सरकारको स्वामित्व र नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सदस्य, कारागारमा रहेका थुनुवा वा कैदी, वृद्धाआश्रममा बसोबास गर्ने व्यक्ति लगायतलाई अस्थायी मतदाताका रूपमा सूचीकृत गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म बाँकेमा २ हजार ३३८ जना अस्थायी मतदाताका रूपमा दर्ता भएका छन् । तर, यो संख्या अन्तिम नभएको उल्लेख गर्दै निर्वाचन अधिकारी शाहीले यही २४ गतेसम्म नाम दर्ता तथा विवरण संशोधनका कारण संख्या थपघट हुन सक्ने जानकारी दिनुभयो । “अझै केही दिन समय बाँकी रहेकाले अस्थायी मतदाताको संख्या परिवर्तन हुन सक्छ,” उहाँले बताउनुभयो ।
कतिपय अस्थायी मतदातासँग मतदाता परिचयपत्र नभएका कारण समस्या देखिएको उल्लेख गर्दै उहाँले अस्थायी मतदाताको अन्तिम नामावली पनि प्रकाशन गरिने जानकारी दिनुभयो । अस्थायी मतदाताले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको जिल्ला जनशक्ति व्यवस्थापन समितिको बैठकले निर्वाचन सञ्चालनका लागि २ हजार ४१५ जना कर्मचारी सिफारिस गरेको छ । जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार आवश्यक जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गरी तयारी तीव्र पारिएको छ ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र व्यवस्थित रूपमा सम्पन्न गर्न अस्थायी मतदाता व्यवस्थापन, नामावली अद्यावधिक तथा कर्मचारी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।










