२३, माघ २०८२
बाँके राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा रहेको राप्ती नदीमा लोपोन्मुख अवस्थामा रहेको घडियाल गोही पुनर्स्थापना गरिएको छ। सिमसार क्षेत्रको जलीय पर्यावरणीय संरचना र जैविक विविधता सन्तुलित राख्ने उद्देश्यले घडियाल गोही नदीमा छोडिएको निकुञ्जले जनाएको छ।
संकटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षण र पुनःस्थापनाका लागि बाँकेको राप्ती नदीमा गोही छोडिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कडेलले बताउनुभयो। उहाँका अनुसार घडियाल गोही नदी प्रणालीको महत्वपूर्ण सूचक प्रजाति भएकाले यसको संरक्षणले समग्र जलीय पारिस्थितिक प्रणालीलाई सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निकुञ्जका अनुसार पछिल्लो समय बढ्दो सहरीकरण, नदी तटीय क्षेत्रमा बस्ती विस्तार, नदी तथा खोलानालाको अत्यधिक दोहनलगायत कारणले घडियाल गोही संरक्षणमा चुनौती थपिएको छ। नदी किनार क्षेत्रको अव्यवस्थित प्रयोगले गोहीको प्राकृतिक बासस्थान नष्ट हुँदै गएको निकुञ्जको भनाइ छ।
विश्वमा पाइने २४ प्रजातिका गोहिमध्ये नेपालमा दुई प्रजातिका गोही पाइन्छन्। नेपालमा पाइने प्रजातिमा घडियाल गोही र मगर गोही प्रमुख हुन्। घडियाल गोही विशेषगरी नदी प्रणालीमा आश्रित हुने र जलचर पारिस्थितिकी सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने प्रजातिका रूपमा चिनिन्छ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले घडियाल गोही संरक्षणका लागि प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले गोही संरक्षण प्रभावकारी बनाउन सरकारी निकाय, संरक्षणकर्मी तथा स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। स्थानीय समुदायको सक्रिय सहभागिता बिना दीर्घकालीन संरक्षण सम्भव नहुने उहाँको भनाइ छ।
इतिहास हेर्दा सन् १९४० सम्म घडियाल गोही पश्चिम पाकिस्तानको इन्दुस नदीदेखि भारत, नेपाल, बंगलादेश र भुटान हुँदै पूर्वी म्यानमारसम्म पाइन्थ्यो। तर, बासस्थान विनाश, नदी प्रदूषण, अवैध शिकार तथा मानवीय हस्तक्षेपका कारण हाल घडियाल गोही नेपाल र भारतका सीमित नदी प्रणालीमा मात्रै पाइने अवस्था सिर्जना भएको छ। यही कारण नेपालले घडियाल गोहीलाई संरक्षण सूचीमा राख्दै यसको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले घडियाल गोही संरक्षणका लागि कृत्रिम प्रजनन केन्द्र स्थापना गरेर पुनःस्थापनाको कार्यक्रम अघि बढाइएको बताउनुभयो। उहाँका अनुसार संरक्षणका वैज्ञानिक विधि अपनाउँदै गोहीलाई प्राकृतिक बासस्थानमा फर्काउने प्रयासलाई निरन्तरता दिइँदै आएको छ।
यसैक्रममा बर्दिया राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका पाँच वटा घडियाल गोही राप्ती नदीमा छोडिएको हो। हालसम्म राप्ती नदीमा २५ वटा घडियाल गोही पुनर्स्थापना गरिएको संरक्षणकर्मीहरूले जनाएका छन्। गोही संरक्षणसँगै राप्ती नदी प्रणालीलाई दीर्घकालीन रूपमा जोगाउने लक्ष्य लिइएको संरक्षणकर्मी शारदा खुनाले बताउनुभयो।
उहाँका अनुसार घडियाल गोही संरक्षण सफल बनाउन स्थानीय समुदायको सहभागिता, नियमित अनुगमन तथा जनचेतना कार्यक्रम सञ्चालन आवश्यक रहेको छ। नदी किनार क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न नसके संरक्षण प्रयास प्रभावकारी हुन नसक्ने उहाँले उल्लेख गर्नुभयो।
संरक्षणकर्मीहरूले समयमै प्रभावकारी संरक्षणका उपाय अवलम्बन नगरिए घडियाल गोही डाइनोसोर जस्तै पूर्ण रूपमा लोप हुने खतरा रहेको चेतावनी दिएका छन्। त्यसैले यो दुर्लभ प्रजातिको संरक्षणका लागि राज्य, संरक्षणकर्मी तथा स्थानीय समुदाय सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ।











