२५, माघ २०८२
बाँके । बाँकेमा भारतबाट अवैध रूपमा भित्र्याइएका ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिइएको छ।
शुक्रबार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ भुजईगाउँ क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याइएका ५ हजार ५५० वटा ब्रोइलर कुखुराका चल्ला बरामद गरिएको हो।
सुरक्षा निकायले विशेष सूचनाका आधारमा उक्त चल्ला नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएका चल्लालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज, बाँकेमा पठाइएको सम्बन्धित निकायले जनाएको छ।
अवैध रूपमा पशुपन्छी तथा पशुजन्य सामग्री आयात हुँदा रोग संक्रमणको जोखिम बढ्ने भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी बढाइएको अधिकारीहरूले बताएका छन्। साथै, सम्बन्धित निकायले सीमावर्ती क्षेत्रमा अवैध आयात नियन्त्रण गर्न नियमित अनुगमन जारी राखिएको जनाएको छ।











