२, फाल्गुन २०८२
बाँके ।बाँके जिल्लाका आठ स्थानीय तहहरूमध्ये कार्यसम्पादन मूल्याङ्कनमा बाँके जिल्ला अन्तर्गत रहेको खजुरा गाउँपालिका ७१.९९ प्रतिशत अङ्कसहित जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल भएको छ। सेवा प्रवाह, वित्तीय सुशासन तथा योजना कार्यान्वयनका विभिन्न सूचकमा उत्कृष्ट प्रदर्शन गर्दै खजुराले अन्य सात पालिकालाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो।
मूल्याङ्कनअनुसार कोहलपुर नगरपालिका ६५.७६ प्रतिशत अङ्कसहित दोस्रो स्थानमा रहेको छ भने बैजनाथ गाउँपालिका ६४.०६ प्रतिशत अङ्कसहित तेस्रो स्थानमा पुगेको छ। त्यस्तै, जानकी गाउँपालिका ५८.६७ प्रतिशत अङ्कसहित चौथो स्थानमा रहेको छ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका ५६.४५ प्रतिशत अङ्कसहित पाँचौँ स्थानमा रहेको छ भने राप्ती सोनारी गाउँपालिका ५४.०० प्रतिशत अङ्कसहित छैटौँ स्थानमा रहेको छ। नरैनापुर गाउँपालिका ५२.११ प्रतिशत अङ्कसहित सातौँ स्थानमा रहँदा डुडुवा गाउँपालिका ४९.९७ प्रतिशत अङ्कसहित अन्तिम तथा आठौँ स्थानमा परेको छ।
खजुरा गाउँपालिकाले प्राप्त गरेको सफलतालाई पालिकाको राजनीतिक तथा प्रशासनिक नेतृत्वले सामूहिक प्रयास र इमान्दार कार्यशैलीको परिणामका रूपमा व्याख्या गरेको छ। गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले यो उपलब्धि सम्पूर्ण खजुरावासीको साझा जीत भएको उल्लेख गर्दै जिल्लामै पहिलो हुनुले अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा मिलेको बताउनुभयो।
गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले योजनाको प्रभावकारी अनुगमन तथा लक्षित वर्गका कार्यक्रममा पारदर्शिता अपनाएकै कारण यस्तो सफलता सम्भव भएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले कर्मचारीको मेहनत र राजनीतिक नेतृत्वसँगको उत्कृष्ट समन्वयका कारण पालिका पहिलो स्थानमा पुग्न सफल भएको धारणा व्यक्त गर्नुभयो।
यसैबीच, वरिष्ठ लेखा अधिकृतले बेरुजु न्यूनीकरण तथा बजेटको मितव्ययी प्रयोगमा शून्य सहनशीलताको नीति अपनाएकै कारण सकारात्मक नतिजा प्राप्त भएको दाबी गर्नुभएको छ।











