३, फाल्गुन २०८२
बाँके ।बाँके क्षेत्र नम्बर ३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर चुनावी सरगर्मी तीव्र बनेको छ। यस क्षेत्रमा मुख्यतः नेकपा एमाले , नेपाली काङ्ग्रेस नेपाली कम्युनिस्ट पाटी र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
निर्वाचन क्षेत्रमा कुल २२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि मुख्य प्रतिस्पर्धा काँग्रेसका अमर सिंह पुन, एमालेका सुमन मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार र नेपाली कम्युनिस्ट पार्टीका दिपक जिएमबीच हुने देखिएको छ।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट काँग्रेसका तत्कालीन सहमहामन्त्री किशोर सिंह राठौर विजयी हुनुभएको थियो भने एमाले उपविजेतामा सीमित भएको थियो। यसपटक काँग्रेसले आफ्नो जित जोगाउने रणनीतिसहित मैदानमा उत्रिएको छ भने एमाले पुरानो विरासत फर्काउने दाउमा देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ शक्तिका रूपमा मतदाताको विश्वास जित्ने अभियानमा छ। नेपाली कम्युनिस्ट पार्टीले पनि २०६४ सालमा तत्कालीन माओवादीका रूपमा हासिल गरेको जित दोहोर्याउने लक्ष्य राखेको छ। समग्रमा हेर्दा यहाँ त्रिपक्षीय भिडन्तको सम्भावना बलियो देखिएको छ।
काँग्रेस उम्मेदवार पुन लुम्बिनी प्रदेश सभापति हुनुहुन्छ। रोल्पाका स्थायी बासिन्दा भए पनि उहाँ बाँके–३ बाट चुनाव लडिरहनुभएको छ। एमाले उम्मेदवार मल्ल गत स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार भई पराजित हुनुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सुनार दैलेखका हुनुहुन्छ र नयाँ पुस्ताका मतदातालाई लक्षित गर्दै चुनावी अभियान चलाइरहनुभएको छ।
२०७९ को समानुपातिक मतपरिणामअनुसार काँग्रेसले १९ हजार ८६७ मत, एमालेले १८ हजार ३४९ मत, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ७६५ मत र रास्वपाले ६ हजार ४७३ मत प्राप्त गरेका थिए। यस तथ्यांकले यहाँ काँग्रेस र एमालेबीच प्रतिस्पर्धा कति कडा छ भन्ने देखाउँछ भने रास्वपाको मतले समीकरण परिवर्तन गर्न सक्ने संकेत पनि गर्छ।
जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१६ र १७, जानकी गाउँपालिकाका सबै ६ वडा, खजुरा गाउँपालिकाका सबै ८ वडा तथा बैजनाथ गाउँपालिकाका सबै ८ वडा गरी २४ वडा समेटिएको यस क्षेत्रमा ५८ हजार ६६४ पुरुष र ५८ हजार ६८९ महिला गरी कुल १ लाख १७ हजार ३५४ मतदाता रहेका छन्।
मतदाताको आवाज: “काम गर्ने प्रतिनिधि चाहियो”
बैजनाथ १ का एक युवा मतदाता भन्नुहुन्छ, “हामीलाई भाषणभन्दा काम चाहिएको छ। रोजगारीको अवसर सृजना गर्ने र यहाँकै युवालाई विदेश जान नपर्ने अवस्था बनाउने प्रतिनिधि चाहिन्छ।”
बैजनाथ गाउँपालिकाकी एक महिला मतदाता भन्नुहुन्छ, “महिलाको स्वर संसद्मा बलियो रूपमा उठाउने उम्मेदवारलाई मत दिन चाहन्छु। स्वास्थ्य, शिक्षा र महिला उद्यमशीलता प्रवर्द्धनमा ठोस कार्यक्रम ल्याउनुपर्छ।”
खजुराका एक किसानको अपेक्षा कृषि क्षेत्रमा केन्द्रित छ। “मल, बीउ र सिँचाइको समस्या समाधान गर्न नसक्ने नेता हामीलाई चाहिँदैन। उत्पादनको उचित मूल्य र बजार सुनिश्चित गर्ने योजना चाहिन्छ,” उहाँले भन्नुभयो।
बैजनाथका एक ज्येष्ठ नागरिक भन्नुहुन्छ, “हामी स्थायित्व र सुशासन चाहन्छौँ। पटक–पटक सरकार फेरिने र विकासका योजना अधुरै रहने अवस्था अन्त्य हुनुपर्छ।”
अपेक्षा: विकासको अनुभूति र पारदर्शिता
यस क्षेत्रका मतदाताले विशेष गरी सडक पूर्वाधार सुधार, स्वास्थ्य सेवा विस्तार, शिक्षाको गुणस्तर अभिवृद्धि, बेरोजगारी न्यूनीकरण र भ्रष्टाचार नियन्त्रणलाई मुख्य मुद्दाका रूपमा उठाएका छन्। युवा पुस्ता परिवर्तन र पारदर्शिताको पक्षमा देखिन्छ भने परम्परागत मतदाता स्थायित्व र अनुभवलाई प्राथमिकता दिइरहेका छन्।
समग्रमा बाँके–३ मा यसपटकको निर्वाचन रोचक र प्रतिस्पर्धात्मक बन्ने निश्चितजस्तै देखिन्छ। अन्तिम निर्णय भने मतदाताको अपेक्षा, विश्वास र चुनावी अभियानको प्रभावले तय गर्नेछ।











