४० दिने ब्युटिसियन तालिममार्फत महिलालाई आत्मनिर्भर बनाउँदै जानकी गाउँपालिका

  • नमस्ते कर्णाली

  • ४, फाल्गुन २०८२

    बाँके ।बाँकेको जानकी गाउँपालिका ले महिलाको आर्थिक सशक्तिकरणलाई प्राथमिकतामा राख्दै ४० दिने ब्युटिसियन तालिम सञ्चालन गरेको छ। गाउँमै सीप सिकाएर महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त तालिमले स्थानीय महिलामा नयाँ उत्साह थपेको छ। रोजगारीका लागि भारत वा ठूला सहर धाउनुपर्ने बाध्यता कम गर्दै आफ्नै ठाउँमा सम्मानजनक आयआर्जनको अवसर सिर्जना गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
    जानकि गाउँपालिकाका अध्यक्ष छब्बन खाँ ले सीपमूलक शिक्षाले नै दिगो आत्मनिर्भरता सम्भव हुने बताउनुभयो। उहाँले भन्नुभयो, “सीप भए अवसर आफैं सिर्जना हुन्छ। महिलालाई आत्मनिर्भर बनाउनु नै हाम्रो लक्ष्य हो। घरपरिवारको आर्थिक अवस्था सुदृढ बनाउन महिलाको आयआर्जन अनिवार्य छ।” उहाँका अनुसार महिलालाई साना लगानीमै ब्युटी पार्लर सञ्चालन गर्न सक्ने बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो।
    यस्तै पालिकाका वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले जागिर खोज्दै भौंतारिनुभन्दा सीप सिकेर स्वरोजगार बन्नु समयको आवश्यकता भएको धारणा राख्नुभयो। “सहज जीवनयापनका लागि सीप सबैभन्दा ठूलो पूँजी हो। सीप हुने व्यक्ति कहिल्यै बेरोजगार हुँदैन,” उहाँले भन्नुभयो।
    सहायक महिला विकास निरीक्षक कल्पना गाहमगरले विशेषगरी मधेश र मुस्लिम समुदायका महिलालाई लक्षित गर्दै तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। “घरबाहिर निस्कन हिच्किचाउने समुदायका महिलालाई पनि सीपमार्फत आत्मविश्वासी बनाउने प्रयास हो,” उहाँले बताउनुभयो। सामाजिक विकास समितिका संयोजक राम अचल धोबीले स्थानीय महिलालाई जीवनोपयोगी सीप प्रदान गरी आर्थिक उन्नतितर्फ अग्रसर गराउने दीर्घकालीन योजना अन्तर्गत तालिम सञ्चालन गरिएको स्पष्ट पार्नुभयो।
    तालिम प्रशिक्षक मिरा राना मगर का अनुसार ४० दिनसम्म आधारभूतदेखि उन्नत तहसम्मका ब्युटिसियन सीप सिकाइनेछ। छाला हेरचाह, मेकअप, हेयरकट, फेसियल, ब्राइडल मेकअपलगायतका व्यावहारिक अभ्यासमा जोड दिइने उहाँले बताउनुभयो। “यो तालिमले सहभागीलाई दक्ष बनाउने मात्र होइन, भविष्यमा प्रशिक्षकका रूपमा स्थापित हुन सक्ने आधारसमेत तयार गर्छ,” उहाँले विश्वास व्यक्त गर्नुभयो।
    तालिममा सहभागी जानकी गाउँपालिका–३ की पुष्पा दासले सीप सिकेर आफ्नै ब्युटी पार्लर सञ्चालन गर्ने लक्ष्य राखेको बताउनुभयो। “अहिलेसम्म घरधन्दामै सीमित थियौं। अब सीप सिकेपछि आफ्नै कमाइ हुने आशा जागेको छ,” उहाँले भन्नुभयो। अर्की सहभागी जस्मिन बानोले पनि तालिमले आर्थिक रूपमा सबल बन्ने ढोका खोलिदिएको प्रतिक्रिया दिनुभयो। “महिलाले सीप सिके घरको आम्दानी बढ्छ, आत्मविश्वास बढ्छ र निर्णय गर्ने क्षमता पनि बढ्छ,” उहाँले भन्नुभयो।
    अन्य सहभागीहरूले पनि सीप सिकेपछि आफूहरू विदेश वा सहरतिर काम खोज्न जानु नपर्ने, गाउँमै सम्मानजनक व्यवसाय सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार महिलाले सीप सिक्दा परिवारको जीवनस्तर उकासिनुका साथै छोराछोरीको शिक्षा, स्वास्थ्य र पोषणमा सकारात्मक प्रभाव पर्छ।
    कार्यक्रममा वक्ताहरूले तालिमलाई औपचारिकतामा सीमित नराखी व्यावसायिक सोच र व्यवहारसहित प्रयोगमा ल्याउन आग्रह गरेका छन्। सीपसँगै अनुशासन, सेवा गुणस्तर र ग्राहकसँगको व्यवहारले नै व्यवसाय दिगो बन्ने धारणा राख्दै तालिमपछि पनि गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने जनाएको छ।
    स्थानीय तहबाट सञ्चालन गरिएको यस्तो सीपमूलक कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउँदै गाउँको समग्र आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। महिलाले सीप सिके व्यक्तिगत मात्र होइन, सामुदायिक रूपान्तरणको आधार तयार हुने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।

  • ४ फाल्गुन २०८२, सोमबार ०७:३३ प्रकाशित

  • Nabintech