५, फाल्गुन २०८२
बाँके ।बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक रोचक र बहुआयामिक प्रतिस्पर्धा हुने देखिएको छ। दलगत तथा स्वतन्त्र गरी १४ जना उम्मेदवार मैदानमा उत्रिए पनि मुख्यतः पाँच जनाबीच कडा भिडन्त हुने राजनीतिक विश्लेषकहरूको आँकलन छ। पुराना दलले आफ्नो आधार जोगाउने प्रयास गरिरहँदा नयाँ दल र वैकल्पिक शक्तिले मतदाताको मन जित्ने अभियान तीव्र पारेका छन्।
यस क्षेत्रमा सूर्य ढकाल पुनः दोस्रो कार्यकालका लागि मैदानमा हुनुहुन्छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्यसमेत रहेका ढकाल अघिल्लो निर्वाचनमा विजयी हुनुभएको थियो। एमालेले आफ्नो संगठनात्मक बल र विगतको विकास एजेन्डालाई मुख्य आधार बनाउँदै मत मागिरहेको छ।
उता नेपाली काँग्रेसले जिल्ला सभापति नारायण प्रसाद गौडेललाई उम्मेदवार बनाएको छ। २०७९ सालको निर्वाचनमा गठबन्धनका कारण काँग्रेसले हार बेहोर्नु परेको थियो। यसपटक पार्टी आफ्नै शक्ति परीक्षणमा उत्रिएको हो। गौडेलले “स्थानीय आवश्यकताअनुसारको योजना, रोजगारी सिर्जना र कृषि आधुनिकीकरण”लाई आफ्नो प्राथमिकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यो क्षेत्रलाई दीर्घकालीन विकासको खाँचो छ। जनताको भरोसा जितेर समृद्धिको मार्ग खोल्ने प्रतिबद्धता लिएको छु।”
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेश कुमार चौधरी उम्मेदवार हुनुहुन्छ। अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिस्पर्धा गर्नुभएका चौधरीलाई यसपटक वैकल्पिक राजनीतिक शक्तिको प्रतिनिधिका रूपमा हेरिएको छ। चौधरीले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र युवा सहभागितालाई मुख्य एजेन्डा बनाउँदै अभियान चलाइरहनुभएको छ। उहाँले भन्नुभयो, “पुराना दलको दोहोरिने शैलीबाट जनता वाक्क छन्। अब परिणाममुखी राजनीति आवश्यक छ।”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ पनि प्रतिस्पर्धामा हुनुहुन्छ। २०७४ सालको परिणाम दोहोर्याउने लक्ष्यसहित मैदानमा उत्रिनुभएका पाण्डेले वाम एकताको आवश्यकता औंल्याउँदै सामाजिक न्याय र समावेशी विकासको मुद्दा उठाउनुभएको छ। साथै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्णा केसी ‘नमुना’ उम्मेदवार हुनुहुन्छ। उहाँ अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो।
यो निर्वाचन क्षेत्र अन्तर्गत कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका सबै ३० वडा समेटिएका छन्। जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीका अनुसार यहाँ कुल १ लाख २४ हजार ७२७ मतदाता रहेका छन् भने ४८ मतदान स्थलमा १४१ मतदान केन्द्र निर्धारण गरिएको छ।
अघिल्लो निर्वाचनको समानुपातिक मतपरिणामअनुसार एमालेले १६ हजार ८७६, काँग्रेसले १४ हजार २१८, नागरिक उन्मुक्तिले ९ हजार ९९७, माओवादी केन्द्रले ८ हजार ९९३ र रास्वपाले ८ हजार ९९२ मत प्राप्त गरेका थिए। यस आधारमा मत विभाजनको सम्भावना उच्च देखिन्छ।
स्थानीय मतदाताको रोजाइ विविध देखिएको छ। कोहलपुरका व्यवसायी रामप्रसाद थापाले भन्नुभयो, “हामीलाई पार्टीभन्दा काम गर्ने व्यक्ति चाहिएको हो। सडक, सिँचाइ र रोजगारीको समस्या समाधान गर्न सक्ने उम्मेदवार रोज्छौं।” राप्तीसोनारीकी कृषक माया चौधरी भन्छिन्, “कृषि उत्पादनको उचित मूल्य र बजार व्यवस्थापन हाम्रो मुख्य अपेक्षा हो।” नरैनापुरका युवा मतदाता इरफान अन्सारीको भनाइ छ, “युवालाई अवसर दिने र पारदर्शी काम गर्ने उम्मेदवार हाम्रो प्राथमिकता हो।”
यसरी हेर्दा बाँके–१ मा पुराना दलको संगठनात्मक शक्ति र नयाँ शक्तिको उत्साहबीच कडा प्रतिस्पर्धा हुने निश्चितजस्तै देखिन्छ। अन्ततः मतदाताको अन्तिम निर्णयले कसको पक्षमा जनमत जान्छ भन्ने कुराले क्षेत्रको आगामी राजनीतिक दिशा तय गर्नेछ।











