भेरी अस्पताल केन्द्रमा राख्दै इस्तियाक राईको प्रतिबद्धता सार्वजनिक : ट्रमा सेन्टरदेखि न्यूरो–मुटु उपचारसम्म विशेष योजना

  • नमस्ते कर्णाली

  • ५, फाल्गुन २०८२
    बाँके ।बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले सोमबार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। नेपालगन्जमा आयोजित एक कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विस्तृत योजना सार्वजनिक गरेका हुन्।
    राईको प्रतिबद्धता पत्रको मुख्य केन्द्र भेरी अस्पताल रहेको छ। उनले भेरी अस्पताललाई प्रदेशकै सुविधासम्पन्न र विशिष्टीकृत स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारेका छन्। ट्रमा सेन्टर स्थापनादेखि न्यूरो र मुटुसम्बन्धी रोगको उपचारका लागि विशेष सेवा विस्तार गर्ने योजना उनले सार्वजनिक गरेका छन्।
    कार्यक्रममा बोल्दै राईले भने, “स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार हो। गुणस्तरीय उपचार नपाएर कोही पनि नागरिक पीडित हुन नपरोस् भन्ने उद्देश्यले यो प्रतिबद्धता पत्र तयार गरिएको हो।”
    स्वास्थ्यसम्बन्धी मुख्य प्रतिबद्धताहरू
    राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित निम्न प्रमुख बुँदाहरू समेटिएका छन्–
    १.सरकारी अस्पतालहरूमा चिकित्सक तथा अन्य प्राविधिक जनशक्तिको दरबन्दी थप गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइने।
    २.स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउने।
    ३.डुडुवा गाउँपालिका लगायत विभिन्न पालिकामा रहेका १५ शैयाका अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई आधुनिक सुविधायुक्त बनाउँदै प्रसूति सेवा विस्तार गर्ने पहल गरिने।
    ४.भेरी अस्पतालमा चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनका लागि पहल गर्दै स्थानीय विद्यार्थीलाई निश्चित छात्रवृत्ति उपलब्ध गराउने नीति निर्माणमा जोड दिने।
    ५.सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्तिको यथोचित व्यवस्थापन गर्न पहल गरिने।
    ६.“कोही रोगी हुन नपरोस्, उपचार नपाएर कोही मर्नु नपरोस्” भन्ने नारालाई आत्मसात गर्दै भेरी अस्पतालमा न्यूरो र मुटुसम्बन्धी रोगहरूको विशेष उपचार व्यवस्था मिलाइने।
    ७.गम्भीर चोटपटक लागेका बिरामीहरूको उपचारका लागि ट्रमा सेन्टर सञ्चालन गरिने।
    ८.भेरी अस्पतालका लागि यसअघि स्वीकृत सवा ३ अर्ब रुपैयाँको कार्ययोजनाअन्तर्गत विनियोजन भइसकेको २५ करोड रुपैयाँको कामलाई अघि बढाइने र रोकिएका योजना कार्यान्वयन गरिने।
    ९.अस्पतालमा अत्याधुनिक तथा व्यवस्थित मर्चरी चेम्बर सेवा सुदृढ गर्नुका साथै पोस्टमार्टम कक्षको संरचनागत सुधार गरिने।
    १०.सहरी स्वास्थ्य क्लिनिकहरूलाई व्यवस्थित गर्दै स्तरोन्नति गरिने।
    ११.सुशील कोइराला क्यान्सर अस्पतालको सेवा स्तरोन्नति तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइने।
    राईले भेरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य पनि प्रस्तुत गरेका छन्। उनका अनुसार, स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउन सके बिरामीहरूलाई बाहिरका सहर धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ।
    स्वास्थ्य क्षेत्रलाई निर्वाचनको मुख्य एजेन्डा बनाउँदै सार्वजनिक गरिएको यो प्रतिबद्धता पत्रले बाँके क्षेत्र नं. २ मा चुनावी बहसलाई स्वास्थ्यकेन्द्रित बनाएको छ। स्थानीय नागरिकहरूले भने सार्वजनिक प्रतिबद्धताहरू कार्यान्वयनमा कत्तिको रूपान्तरण हुन्छन् भन्ने कुरामा चासो व्यक्त गरेका छन्।

  • ५ फाल्गुन २०८२, मंगलवार १६:४६ प्रकाशित

  • Nabintech