काठमाडौं ,५ फाल्गुन ।
नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन क्षेत्रमा अग्रणी उद्योग लिट्मस् इन्डस्ट्रिज लिमिटेड ले अन्तर्राष्ट्रिय बजारमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय Power Grid Corporation of India Limited (पीजीसीआईएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइनका लागि कन्डक्टर आपूर्ति गर्ने महत्वपूर्ण सम्झौता प्राप्त गरेको हो।
पीजीसीआईएल भारतको अन्तरराज्यीय तथा सीमापार विद्युत् प्रसारण सञ्जाल सञ्चालन गर्ने प्रमुख निकाय हो। सो निकायबाट स्वीकृति पाउनु आफैंमा ठूलो उपलब्धि मानिन्छ। यससँगै लिट्मस् इन्डस्ट्रिज सीमापार विद्युत् प्रसारण परियोजनाका लागि छनोट हुने एकमात्र नेपाली उत्पादक बनेको छ।
४०० केभी एसीएसआर ‘मूस’ कन्डक्टर नेपालमै उत्पादन
सम्झौता अनुसार लिट्मस् इन्डस्ट्रिजले ४०० केभी एसीएसआर ‘मूस’ कन्डक्टर २,७९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ। यी कन्डक्टरहरू नेपाल–भारत सीमापार डिडिङ्ग–ढल्केबर–बथनाहा प्रसारण लाइन परियोजनामा प्रयोग गरिनेछन्। उक्त प्रसारण लाइन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजना सँग सम्बन्धित छ।
नेपालमै पहिलो पटक ४०० केभी एसीएसआर ‘मूस’ कन्डक्टर उत्पादन हुन लागेको हो। यसले देशको प्राविधिक क्षमता र औद्योगिक दक्षतालाई नयाँ उचाइमा पुर्याएको छ। ऊर्जा पूर्वाधार विकासमा स्वदेशी उत्पादन प्रयोग हुनु राष्ट्रिय अर्थतन्त्रका लागि पनि सकारात्मक संकेत मानिएको छ।
गहन मूल्याङ्कनपछि स्वीकृति
परियोजना स्वीकृत गर्नु अघि पीजीसीआईएलले लिट्मस् इन्डस्ट्रिजको उत्पादन केन्द्रको विस्तृत मूल्याङ्कन गरेको थियो। उत्पादन प्रक्रिया, गुणस्तर नियन्त्रण प्रणाली, परीक्षण संयन्त्र तथा समग्र पूर्वाधारको सूक्ष्म समीक्षा गरिएपछि मात्र कम्पनीलाई परियोजनाका लागि योग्य ठहर गरिएको हो।
यस प्रक्रियाले लिट्मस् इन्डस्ट्रिज अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रिएको पुष्टि गरेको छ। नेपाली उद्योगले गुणस्तर, विश्वसनीयता र प्राविधिक दक्षताको आधारमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सक्छ भन्ने सन्देश पनि यसले दिएको छ।
ऊर्जा सुरक्षामा टेवा
ढल्केबर–बथनाहा सीमापार प्रसारण लाइन नेपालका महत्वपूर्ण ऊर्जा आयोजनामध्ये एक हो। ९०० मेगावाट क्षमताको अरुण–३ आयोजनाले नेपालको ऊर्जा सुरक्षालाई मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, यसले औद्योगिक विकासलाई गति दिने र नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
पूर्व अनुभवले थप विश्वसनीयता
लिट्मस् इन्डस्ट्रिजसँग ठूला प्रसारण परियोजनामा काम गरेको अनुभव छ। यसअघि कम्पनीले हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनका लागि नेपाल विद्युत् प्राधिकरणलाई ३,६०० किलोमिटर एसीएसआर ‘मूस’ कन्डक्टर आपूर्ति गरिसकेको छ। उक्त परियोजना नेपालका प्रमुख आन्तरिक प्रसारण मार्गहरूमध्ये एक हो।
हाल प्राप्त स्वीकृतिले लिट्मस् इन्डस्ट्रिजलाई विश्वसनीय अन्तर्राष्ट्रिय आपूर्तिकर्ताका रूपमा स्थापित गरेको छ। सीमापार ऊर्जा पूर्वाधार विकासमा नेपालको सक्रिय र सशक्त सहभागिता बढ्दै गएको संकेत पनि यसले दिएको छ।
कम्पनी परिचय
लिट्मस् इन्डस्ट्रिज लिमिटेड, रमेश कर्प समूहअन्तर्गत सन् १९७७ देखि सञ्चालनमा रहेको उद्योग हो। चार दशकभन्दा बढी समयदेखि यसले नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्दै आएको छ।
कम्पनीले मध्यम भोल्टेज एक्सएलपीई आवरणयुक्त कन्डक्टर, एसीएसआर कन्डक्टर, एरियल बन्च्ड केबल, न्यून भोल्टेज पावर केबल तथा कन्ट्रोल केबल उत्पादन गर्दै आएको छ। घरायसी प्रयोजनका लागि ‘लिट्मस् केबल्स’ ब्रान्डअन्तर्गत एफआरएलएस केबल तथा इकोवायर–जेडएच हलोजनरहित तार पनि उत्पादन तथा आपूर्ति गर्दै आएको छ।
बुटवल र नवलपरासीमा अवस्थित दुई आधुनिक उत्पादन केन्द्रमार्फत सञ्चालन भइरहेको कम्पनीले नेपालमै पहिलो पटक एल्युमिनियम रड उत्पादन प्लान्ट स्थापना गरेको छ। कम्पनीका सबै उत्पादन तथा प्रक्रिया राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर तथा सुरक्षा मापदण्डअनुसार सञ्चालन हुँदै आएका छन्।










