नेपालगन्जमा जसपाको शक्ति प्रदर्शन: कमरुद्दिन राई भन्छन्– “यो चुनाव भाग्यको फैसला हो”

  • नमस्ते कर्णाली

  • ६, फाल्गुन २०८२।

    बाँके ।जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईको पक्षमा नेपालगन्जमा बृहत् ¥याली तथा कोणसभा सम्पन्न भएको छ। रामलिला मैदानबाट सुरु भएको ¥याली नगरका विभिन्न मुख्य सडक हुँदै एमपी स्कुल नजिक पुगेर कोणसभामा परिणत भएको थियो।
    ¥यालीमा सहभागी समर्थकहरूको उत्साह, पार्टीका झण्डा र नाराले नेपालगन्ज शहर चुनावी माहोलमा रंगिएको देखिन्थ्यो। विभिन्न समुदाय, वर्ग र उमेर समूहका नागरिकहरूको उल्लेख्य उपस्थितिले जसपाको स्थानीय संगठनात्मक सशक्त उपस्थिति झल्काएको थियो।


    कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार कमरुद्दिन राईले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सामान्य चुनावको रूपमा नलिन आग्रह गरे। उनले भने, “यो चुनाव केवल चुनाव होइन, जनताको भाग्य फैसला गर्ने अवसर हो। यसलाई आफ्नो भविष्य तय गर्ने निर्णयका रूपमा लिनुपर्छ।”
    उनले विगतका कठिन समयको स्मरण गराउँदै मतदातासँग भावनात्मक अपिल गरे। “कोरोनाकालमा तपाईंहरूको दुःखमा को साथमा थियो? अहिले भोट माग्न आउनेहरू त्यतिबेला कहाँ थिए?” भन्दै उनले आफू सधैं जनताको साथमा उभिएको दाबी गरे। आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता उनले दोहोर्याए।
    राईले नेपालगन्जमा सञ्चालित केही विकास योजनाबारे बोल्दै विकासको श्रेय लिने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। “जनतालाई भ्रममा राख्ने राजनीति अन्त्य हुनुपर्छ, सत्य र तथ्यका आधारमा मूल्यांकन हुनुपर्छ,” उनले भने। साथै उनले सार्वजनिक रूपमा घोषणा गरिएका केही पूर्वाधार योजनाको प्रगतिबारे प्रश्न उठाउँदै पारदर्शिता आवश्यक रहेको उल्लेख गरे।


    आफ्नो कार्यकालका उपलब्धि प्रस्तुत गर्दै राईले शिक्षा, स्वास्थ्य र धार्मिक संरचनाको क्षेत्रमा उल्लेख्य काम भएको दाबी गरे। उनका अनुसार नेपालगन्जमा करिब १२ करोड रुपैयाँ लागतमा हनुमान मन्दिर निर्माण कार्य भइरहेको छ भने बागेश्वरी मन्दिरको जीर्णोद्धार सम्पन्न गरिएको छ। भेरी अस्पतालको पूर्वाधार विस्तारमा समेत आफ्नो नेतृत्वको महत्वपूर्ण भूमिका रहेको उनले बताए।
    राईले बाँकेको दुडुवा गाउँपालिकाको उदाहरण दिँदै अझै पनि आधारभूत सुविधामा कमी रहेको उल्लेख गरे। “खानेपानी र शौचालयजस्ता आधारभूत आवश्यकताबाट नागरिक वञ्चित छन् भने विकास पूर्ण भएको भन्न मिल्दैन। विकास क्रमशः भइरहेको छ, तर अझै धेरै काम बाँकी छ,” उनले स्पष्ट पारे।
    उनले चुनावी विकृति, पैसाको प्रभाव र मत खरिद–बिक्रीप्रति कडा असन्तुष्टि व्यक्त गरे। “पैसा र बिरियानीमा बिक्ने मत हामीलाई चाहिँदैन,” भन्दै उनले मतदातालाई सचेत र जिम्मेवार बन्न आग्रह गरे।


    राईले आफ्नो उम्मेदवारी मधेशी, दलित, जनजाति तथा मुस्लिम समुदायको हकअधिकार सुनिश्चित गर्न केन्द्रित रहेको बताए। “मधेशी अधिकारको रक्षाका लागि मैले उपमहानगरपालिकाको उपप्रमुख पद त्यागेको हुँ। अब जनताको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी लिन चाहन्छु,” उनले भने।
    सभाको अन्त्यमा उनले मतदातासँग इमान्दारिताका साथ छाता चिन्हमा मतदान गर्न अपिल गर्दै चुनाव अगावै जनताको सुख–दुःखमा साथ दिने नेतृत्वलाई समर्थन गर्न आग्रह गरे।
    कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

  • ६ फाल्गुन २०८२, बुधबार १८:२९ प्रकाशित

  • Nabintech