बाँके प्रशासनद्वारा होली र रमजान संयमित रूपमा मनाउन आग्रह

  • नमस्ते कर्णाली

  • १३, फाल्गुन २०८२
    बाँके ।जिल्ला प्रशासन कार्यालय बाँकेले आगामी पर्वहरू र निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न विशेष अपील गरेको छ ।
    प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले विभिन्न ७ बुँदे निर्णयहरू सार्वजनिक गर्दै यस्तो अपील गरेको हो ।
    मुस्लिम समुदायको पवित्र रमजान महिना सुरु भएको र हिन्दुहरूको महान पर्व फागु पूर्णिमा (होली) नजिकिँदै गरेको सन्दर्भमा प्रशासनले यी पर्वहरूलाई आपसी भाइचारा र सहिष्णुताका साथ मर्यादित र व्यवस्थित रूपमा मनाउन आग्रह गरेको छ।
    यसवर्ष तराई क्षेत्रमा मनाइने होली पर्व र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन एकै समयमा परेकाले प्रशासनले विशेष सतर्कता अपनाउन भनेको छ ।
    फागुन १९ गतेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएकाले होली पर्व मनाउँदा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र घरपरिवार तथा आफन्तजनबीच मात्र सीमित रहेर मनाउन अनुरोध गरिएको छ।
    प्रशासनले चाडपर्व, विवाह वा व्रतबन्धका नाममा चर्को आवाजमा डिजे बजाउन रोक लगाएको छ । २०८२ पुस २२ गतेको निर्णय बमोजिम ध्वनि प्रदूषण नगर्न र नगराउन स्थानीय प्रशासनले कडा निर्देशन दिएको छ।
    बाँके जिल्लाको विशिष्टतालाई ध्यानमा राख्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, धर्मगुरु र नागरिक समाजलाई जिम्मेवार बन्न आग्रह गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउन आग्रह गरिएकोछ ।

     

  • १३ फाल्गुन २०८२, बुधबार ०८:४४ प्रकाशित

  • Nabintech