बाँकेको कोहलपुर स्थित वेस्टर्न इ.मि. सेकेण्डरी स्कुलमा कक्षा ९ का बिद्यार्थी द्धारा कक्षा १० का विद्यार्थीहरूका लागि एसईई परीक्षाको पूर्वसन्ध्यामा भव्य फेयरवेल कार्यक्रम सम्पन्न भएको छ । शनिबार दिउँसो करिब ३ बजे आयोजना गरिएको उक्त कार्यक्रम कक्षा ९ का विद्यार्थीहरूको सक्रिय पहलमा सम्पन्न भएको हो। कक्षा ९ मा अध्ययनरत खुसी हमाल को सभापतित्व तथा नेशनल प्याब्सन का केन्द्रीय उपाध्यक्ष कुशुम रानाभाट को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि कुशुम रानाभाटले कार्यक्रममा बोल्दै कक्षा १० का विद्यार्थीहरूलाई जीवनको एउटा महत्वपूर्ण मोडमा पुगेको बताउनुभयो । उहाँले एसईई परीक्षा केवल शैक्षिक मूल्याङ्कन मात्र नभई अनुशासन, आत्मविश्वास र धैर्यताको परीक्षण पनि भएको उल्लेख गर्नुभयो । “एसईईलाई डरको रूपमा होइन, अवसरको रूपमा लिनुहोस्,” भन्दै उहाँले विद्यार्थीहरूलाई सकारात्मक सोच र नियमित तयारीमार्फत उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्नुभयो । उहाँले वर्तमान प्रतिस्पर्धात्मक युगमा सफल हुनका लागि केवल किताबको ज्ञान मात्र पर्याप्त नहुने भन्दै सिर्जनशीलता, व्यवहारिक सीप र नैतिक शिक्षाको पनि उत्तिकै आवश्यकता पर्ने कुरामा जोड दिनुभयो । साथै, विद्यालयले सिकाएको अनुशासन, समय व्यवस्थापन र जिम्मेवारीबोधलाई जीवनभर अनुसरण गर्न सुझाव दिनुभयो । रानाभाटले अभिभावक र शिक्षकहरूको योगदानको उच्च प्रशंसा गर्दै भन्नुभयो कि विद्यार्थीहरूको सफलताको पछाडि उनीहरूको निरन्तर साथ, मार्गदर्शन र प्रेरणा महत्वपूर्ण आधार हो । उहाँले कक्षा ९ का विद्यार्थीहरूले आयोजना गरेको फेयरवेल कार्यक्रमको प्रशंसा गर्दै यसले सहकार्य, नेतृत्व क्षमता र आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग गर्ने बताउनुभयो । अन्त्यमा, उहाँले सबै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै एसईई परीक्षामा सफलताको शुभकामना व्यक्त गर्नुभयो र आगामी दिनमा देशको जिम्मेवार, सक्षम र नैतिक नागरिक बन्न प्रेरित गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा विद्यालयका संस्थापक कुबेर बस्नेतले आफ्नो मन्तव्य राख्दै विद्यार्थीहरूलाई आगामी एसईई परीक्षामा आत्मविश्वासका साथ उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरित गर्दै भविष्यमा पनि विद्यालयको नाम उच्च राख्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले शिक्षाले जीवनमा सफलताको मार्ग प्रशस्त गर्ने भएकाले निरन्तर अध्ययन र सिकाइमा केन्द्रित रहन आग्रह गर्नुभयो । कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले एसईईको तयारीमा रहेका कक्षा १० का विद्यार्थीहरूलाई सम्मानपूर्वक विदाई दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक उमेश श्रेष्ठ ले कार्यक्रमलाई अन्तरक्रियात्मक र भावनात्मक रूपमा सञ्चालन गरिएकोमा आयोजक समितिलाई धन्यवाद दिँदै विद्यालयका गतिविधिमा कुनै कमी कमजोरी भएमा क्षमायाचना गर्न आग्रह गर्नुभयो । उहाँले विद्यालय छाडेपछि पनि विद्यार्थीहरूले विद्यालयप्रति माया, सद्भाव र सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयबाट बाहिरिएका विद्यार्थीहरू भविष्यमा विभिन्न क्षेत्रमा सफल, प्रतिष्ठित र उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।



कार्यक्रममा शिक्षक प्रतिनिधि, विद्यार्थी प्रतिनिधि, विशिष्ट अतिथि तथा प्रमुख अतिथिबाट शुभकामना मन्तव्य राखिएको थियो। त्यसपछि कक्षा १० का सम्पूर्ण विद्यार्थीहरूलाई शिक्षक तथा कक्षा ९ का विद्यार्थीहरूले माला, टीका र डायरी प्रदान गरी औपचारिक रूपमा विदाई गरिएको थियो ।










सांस्कृतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो । विद्यार्थीहरूले नृत्य, गीत तथा विभिन्न प्रतिभामूलक प्रस्तुति प्रस्तुत गर्दा कार्यक्रमस्थल उत्साहपूर्ण बनेको थियो ।

समग्रमा, कार्यक्रमले विद्यार्थीहरूबीचको आत्मीयता, सम्मान र भविष्यप्रतिको आशालाई झल्काउने भावनात्मक वातावरण सिर्जना गरेको थियो। कार्याक्रम कोहलपुरमा रहेको होटल सेन्ट्रल प्लाजामा भएको थियो । कार्याक्रको संचालन कक्षा ९ का बिद्यार्थी भास्कर बुढा र अपेक्षा शाहीले गर्नु भएको थियो ।










