जुम्ला ,१५ चैत ।
वर्षौँदेखि निर्माण कार्य अलपत्र पार्दै आएका निर्माण व्यवसायीप्रति कडा र निर्णायक कदम चाल्दै सडक डिभिजन कार्यालय जुम्लाले पहिलो पटक चार वटा ठेक्का एकैसाथ तोडेको छ। सम्झौताअनुसार तोकिएको समयसीमा सकिँदा समेत काम सम्पन्न नगरी पटक–पटक म्याद थप्दा पनि बेवास्ता गरिएपछि बाध्य भएर कारबाहीस्वरूप ठेक्का रद्द गरिएको हो।
सडक डिभिजन जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार कालिकोट, जुम्ला र मुगु जिल्लामा सञ्चालित कर्णाली राजमार्ग तथा नाग्म–गमगडी सडकअन्तर्गत स्तरोन्नति कार्यका लागि ठेक्का लिएका निर्माण कम्पनीहरूले वर्षौँसम्म काम नगरी चेनेज ओगटेर राख्ने प्रवृत्ति देखाएपछि यस्तो निर्णय लिनुपरेको हो।
“ठेक्का सम्झौता अनुसार तोकिएको समयभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो। तर, पटक–पटक म्याद थप्दा पनि काममा कुनै प्रगति नदेखिएपछि अन्ततः ठेक्का तोड्न बाध्य भयौं,” प्रमुख महताराले भन्नुभयो। उहाँका अनुसार निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रूपमा पटक–पटक ताकेता गर्दा पनि अटेरी देखिएपछि जनगुनासो बढ्दै गएकाले निकासका रूपमा ठेक्का अन्त्य गरिएको हो।
ठेक्का रद्द गरिएका आयोजना अन्तर्गत जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ सडक खण्डमा सडक चौडा तथा फुटपाथ निर्माणको जिम्मा लिएको एमएस कश्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लि., नाग्म–गमगडी सडकको चेनेज ७३ देखि ९३+ सम्म स्तरोन्नतिको जिम्मा लिएको एमएस शंकरमाली निर्माण सेवा प्रा.लि., र कर्णाली राजमार्गअन्तर्गत विभिन्न खण्डमा स्तरोन्नति गर्ने जिम्मा लिएको एमएस मान शाही निर्माण सेवा कालिकोटको ठेक्का तोडिएको हो।
कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) तथा (७) बमोजिम ठेक्का सम्झौताको शर्त पूरा नगरेको अवस्थामा ठेक्का अन्त्य गर्ने व्यवस्था अनुसार कारबाही गरिएको हो। निर्माण व्यवसायीबाट काम सम्पन्न नहुने स्पष्ट देखिएपछि कानुनी प्रक्रिया पूरा गरी ठेक्का रद्द गरिएको बताइएको छ।
सडक डिभिजनले सम्बन्धित निर्माण व्यवसायीलाई तत्काल कार्यस्थल छोड्न निर्देशन दिएको छ भने भुक्तानीसँग सम्बन्धित बाँकी कागजात भए कार्यालयमा पेश गर्न अनुरोध गरेको छ।
कर्णाली प्रदेशको समृद्धिको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग तथा नाग्म–गमगडी सडक जस्ता महत्वपूर्ण आयोजनामा भएको चरम ढिलासुस्तीप्रति पहिलो पटक कडा कदम चालिएको भन्दै यसलाई उदाहरणीय कारबाहीका रूपमा हेरिएको छ। साथै, अन्य निर्माण व्यवसायीलाई समयमै गुणस्तरीय काम सम्पन्न गर्न सडक डिभिजनले सचेत गराएको छ।










