१५, चैत २०८२
बाँके ।बाँकेको नेपालगञ्जमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनाले स्थानीय क्षेत्रमा त्रास र चासो दुवै बढाएको छ भने प्रहरीले घटनाको गहिरो अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा गएराति एक युवती आगोले जलेको अवस्थामा फेला परेकी थिइन्। गम्भीर घाइते अवस्थामा भेटिएकी ती युवतीलाई तत्काल उद्धार गरी उपचारका लागि भेरी अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक युवतीको पहिचान नेपालगञ्ज–१२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगरका रूपमा भएको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिनुभयो। उहाँका अनुसार गएराति करिब १२ बजेको समयमा भेरी प्राविधिक शिक्षालय नजिकै उनी जलेको अवस्थामा फेला परेकी थिइन्।
घटनापछि मृतकका परिवारले तीन जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। सोही आधारमा प्रहरीले ती तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जनाएको छ। पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक युवतीको यसअघि नै विवाह भइसकेको थियो र उनको ३–४ वर्षकी एक छोरी पनि रहेको खुलेको छ। हाल पक्राउ परेकामध्ये एक जनासँग युवतीको सम्बन्ध रहेको प्रारम्भिक रूपमा बुझिएको प्रहरीको भनाइ छ।
घटनामा अन्य व्यक्तिको संलग्नता हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान जारी राखेको छ। घटनाको वास्तविक कारण, आगलागी कसरी भयो र यसमा कसको कस्तो भूमिका रह्यो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
मृतक युवतीको शव हाल भेरी अस्पतालमै राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।










