१७, चैत २०८२
बाँके । नेपालगन्जस्थित सञ्जीवनी अस्पतालले पश्चिम नेपालका बिरामीलाई लक्षित गर्दै गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले थप चारवटा विशिष्टीकृत सेवा विस्तार गरेको छ। अस्पतालले आधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोगमार्फत उपचार सेवामा नयाँ आयाम थप्ने लक्ष्यसहित यी सेवाहरू सञ्चालनमा ल्याएको जनाएको छ।
अस्पतालका प्रबन्ध सञ्चालक सन्तोष खनालका अनुसार बिरामीलाई एकै स्थानबाट प्रभावकारी र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको हो। थपिएका सेवाहरूमा अत्याधुनिक प्रविधिबाट पेट तथा कलेजोसम्बन्धी रोगको उपचार, १२ शय्याको ‘डेडिकेटेड न्युरो तथा अर्थो पुनःस्थापना केन्द्र’, खोप सेवा तथा हड्डीको स्वास्थ्य परीक्षणका लागि ‘डेक्सा स्क्यान’ सेवा समावेश छन्।
कार्यक्रममा अस्पतालका बोर्ड अफ डाइरेक्टर डा. एम किदवाईले नेपाल र भारतका ठूला अस्पतालमा समेत विरलै पाइने छुट्टै ‘डेडिकेटेड न्युरो तथा अर्थो पुनःस्थापना केन्द्र’ सञ्जीवनीले सुरु गरेको दाबी गरे। उनले यी सेवाबाट यस क्षेत्रका बिरामीले न्यून शुल्कमा उच्चस्तरीय उपचार पाउने विश्वास व्यक्त गरे।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किदवाईले विशेषगरी ४० वर्ष उमेर पार गरेका व्यक्तिहरूलाई हड्डीको स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्दै आवश्यक परेमा डेक्सा स्क्यान सेवा लिन सुझाव दिए। उनले सीमित अवधिका लागि उक्त सेवामा १५ प्रतिशत छुटसमेत प्रदान गरिएको जानकारी दिए।
पेट तथा कलेजो रोग विशेषज्ञ डा. गौरव श्रेष्ठले अब पेट तथा आन्द्राबाट रगत बग्ने, दीर्घकालीन झाडापखाला तथा बारम्बार वान्ता हुने जस्ता जटिल समस्याको विशिष्टीकृत उपचार यही अस्पतालमा उपलब्ध हुने बताए।
त्यसैगरी, वरिष्ठ कन्सल्टेन्ट न्युरो सर्जन डा. मनिष कोलाक्षपतिले अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहित सञ्चालनमा ल्याइएको सेवाबाट स्ट्रोक, पक्षघात, स्पाइनल इन्जुरी, नसा सम्बन्धी समस्या, हड्डी भाँचिने तथा जोर्नी दुखाइबाट पीडित बिरामीलाई विशेष उपचार प्रदान गरिने जानकारी दिए।
सेवा विस्तार कार्यक्रम अस्पतालका प्रशासकीय प्रमुख कुमार अधिकारी, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका प्रशासकीय प्रमुख रामबहादुर हमाल लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थितिमा सम्पन्न भएको थियो।










