बाँकेमा बालबन्दी र कैदी गरी एसइईमा ४३ जनाको सहभागिता

  • नमस्ते कर्णाली

  • २०, चैत २०८२

    बाँके ।बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाँकेका बाल सुधार गृह र कारागारमा रहेका बालबन्दी तथा कैदीहरूले पनि सहभागिता जनाएका छन्। जिल्लामा रहेका दुई बाल सुधार गृह र दुई कारागारबाट कुल ४३ जना परीक्षार्थी एसइईमा सहभागी भएका हुन्।

    शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईंका अनुसार डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृहबाट ३२ जना र नौबस्ता बाल सुधार गृहबाट ३ जना गरी ३५ बालबन्दीले परीक्षा दिएका छन्। त्यसैगरी नेपालगन्ज कारागार र नौबस्ता कारागारबाट ४–४ जना गरी ८ कैदी परीक्षामा सहभागी भएका छन्।

    परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको जनाउँदै चौलागाईंले सुरक्षा व्यवस्थासहित निरन्तर अनुगमन र निरीक्षण गरिएको जानकारी दिनुभयो।

    यस वर्ष बाँके जिल्लामा ३६ वटा परीक्षा केन्द्रमार्फत ९ हजार ६१५ जना विद्यार्थी एसइईमा सहभागी भएका छन्। पछिल्ला तीन वर्षको तुलनामा परीक्षार्थीको संख्या घट्दै गएको देखिएको छ। २०७९ मा ८ हजार ८८६, २०८० मा ९ हजार २९३ र २०८१ मा १० हजार ४१६ विद्यार्थीले एसइई दिएका थिए।

    बाल सुधार गृह र कारागारबाट समेत परीक्षामा सहभागिता हुनु शिक्षाको पहुँच विस्तार र सुधारात्मक व्यवस्थाको सकारात्मक संकेतका रूपमा लिइएको छ।

  • २० चैत्र २०८२, शुक्रबार ०९:३३ प्रकाशित

  • Nabintech