दुर्गम रोवामा प्रहरी पोस्ट सञ्चालन: अब गाउँमै सुरक्षा सेवा

  • नमस्ते कर्णाली

  • २२, चैत २०८२

    मुगु ।मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ अन्तर्गत पर्ने दुर्गम रोवा गाउँमा अन्ततः प्रहरी पोस्ट सञ्चालनमा आएको छ। लामो समयदेखि सुरक्षा निकायको पहुँच बाहिर रहेको यस क्षेत्रका बासिन्दाले अब आफ्नै गाउँ नजिकै प्रहरी सेवा पाउने भएका छन्।
    स्थानीय स्तरमा बढ्दो सुरक्षा चुनौती, चोरी–डकैती तथा सामाजिक विवाद नियन्त्रणका लागि प्रहरी पोस्ट आवश्यक रहेको भन्दै स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएका थिए। सामाजिक अभियन्ता अनिल बानियाँको पहलमा सरकारबाट प्रहरी पोस्ट स्वीकृत भई औपचारिक रूपमा सञ्चालनमा आएको हो।
    प्रहरी पोस्ट स्थापना भएसँगै अब शान्ति सुरक्षा कायम गर्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा विपद्का बेला तत्काल उद्धार तथा सहयोग पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ। यसले स्थानीयवासीमा सुरक्षाको अनुभूति बढ्नुका साथै सरकारी उपस्थितिलाई पनि थप मजबुत बनाउने विश्वास गरिएको छ।
    स्थानीय स्तरमै अस्थायी प्रहरी पोस्ट सञ्चालनमा आएपछि छायाँनाथ राराका रोवा, सोभा, र्याङ्चेकाटी, लुम्स, चराप, गाँडापानी, झाकोट, तलिलेक, लुहारपोल्ना र घट्टललेक लगायत करिब एक दर्जन बस्तीका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन्।
    प्रहरी पोस्टको औपचारिक उद्घाटन नगर प्रमुख विष्णुकुमार भाम, उपप्रमुख ऐश्वर्य मल्ल, प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, प्रहरी नायब उपरीक्षक रबिराज थपलिया तथा वडा अध्यक्ष कुन्जुमा कुमाईले संयुक्त रूपमा एक कार्यक्रमबीच गरेका हुन्। सो अवसरमा प्रहरी नायब उपरीक्षक थपलियाले प्रहरी सेवा विस्तारसँगै स्थानीय सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने बताए।
    प्रहरी पोस्ट सञ्चालनमा आएकोप्रति स्थानीयवासीले खुशी व्यक्त गरेका छन्। उनीहरूले यसले गाउँमा सुशासन, शान्ति र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै प्रहरी पोस्ट स्थापना गर्न पहल गर्ने सामाजिक अभियन्ता अनिल बानियाँ तथा नेपाल सरकारप्रति आभार प्रकट गरेका छन्।

  • २२ चैत्र २०८२, आईतवार २१:०७ प्रकाशित

  • Nabintech