२४,चैत १०८२
बाँके ।बाँकेको जानकी गाउँपालिकाले सुशासन, प्रभावकारी सेवा प्रवाह र वर्तमान सरकारको कार्य–स्प्रिटलाई स्थानीय तहमा व्यवहारमै लागू गर्ने उद्देश्यले जनप्रतिनिधि तथा कर्मचारीका लागि विशेष क्षमता विकास तालिम सञ्चालन गरेको छ।
गाउँपालिकाले आयोजना गरेको उक्त तालिममा क्षमता अभिवृद्धि, सुशासन, सेवा प्रवाह सुधार, लेखापरीक्षण, पञ्जीकरण, सकारात्मक सोच, सामाजिक जवाफदेहिता तथा सामूहिक निर्णय प्रक्रियाजस्ता विषय समेटिएका थिए। गाउँपालिका सूचना प्रविधि अधिकृत विकास जिसीका अनुसार तालिमको मुख्य उद्देश्य गाउँपालिकाबाट प्रवाह हुने सेवाहरूलाई अझ छिटो, पारदर्शी र जनमैत्री बनाउनु हो।
गाउँपालिका अध्यक्ष छब्बन खाँले नागरिकले सरकारी सेवा लिँदा अनावश्यक झन्झट र ढिलासुस्ती भोग्न नपरोस् भन्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “सकारात्मक सोच, समूह गतिशीलता, सामूहिक निर्णय र जवाफदेहिताको अभ्यासले सेवा प्रवाहमा सुधार ल्याउँछ।”
प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले सुशासन र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेर तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार नेपालको संविधान, संघीय शासन प्रणाली, स्थानीय तहबीचको समन्वय, विश्व अभ्यास र नेपालको सन्दर्भलाई जोडेर सहजीकरण गरिएको छ।
उपाध्यायले वर्तमान सरकारको कार्य–दिशा र सुशासनको अवधारणालाई स्थानीय तहले व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउँदै सेवा प्रवाहमा ढिलासुस्ती वा अवरोध गर्ने कर्मचारी कारबाहीको भागिदार बन्ने चेतावनी समेत दिनुभयो।
तालिममा योजना तर्जुमा, बजेट प्राथमिकीकरण, कार्यान्वयन सीप, स्थानीय सरकारको अधिकार, कानून निर्माण प्रक्रिया, नेतृत्व विकास, नैतिकता, सदाचार र व्यक्तित्व विकाससम्बन्धी विषयमा समेत प्रशिक्षण दिइएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङ, वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि हरिकृष्ण महतरा लगायतका प्रशिक्षकहरूले सहजीकरण गर्नुभएको थियो।
वरिष्ठ लेखा अधिकृत अन्सारीका अनुसार तालिमले स्थानीय तहका पदाधिकारीलाई आफ्नो काम, कर्तव्य र अधिकारप्रति थप स्पष्ट बनाउनुका साथै न्यायिक समितिको कामकारबाही, असल अभ्यास आदानप्रदान र स्वमूल्यांकन प्रणालीमार्फत कार्यसम्पादन सुधार गर्ने उपायबारे जानकारी दिएको छ।
कार्यक्रममा गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गाउँपालिकाले यस तालिमलाई स्थानीय तहमा सुशासन सुदृढ गर्दै जनमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउने अभियानका रूपमा लिएको जनाएको छ।











