२५, चैत २०८२
कोहलपुर । कोहलपुर नगर अस्पतालले आजदेखि न्यूनतम शुल्कमा डिजिटल एक्स–रे सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवा थप सहज, छरितो र सर्वसुलभ बनाउने उद्देश्यका साथ अस्पतालले आधुनिक प्रविधिमा आधारित यो सेवा सुरु गर्न लागेको हो।
नगर प्रमुख पूर्ण प्रसाद आचार्यका अनुसार डिजिटल एक्स–रे सेवाको सुरुवातसँगै स्थानीय बासिन्दाले अब छिटोछरितो र गुणस्तरीय जाँच सेवा आफ्नै नगरमै प्राप्त गर्न सक्नेछन्। “अब सामान्य जाँचका लागि टाढा धाउनुपर्ने बाध्यता कम हुनेछ, यसले समय र खर्च दुवै बचत गर्नेछ,” उहाँले बताउनुभयो।
डिजिटल प्रविधिमा आधारित एक्स–रे सेवाबाट बिरामीहरूले छिटो रिपोर्ट प्राप्त गर्न सक्नेछन् भने नतिजाको शुद्धता पनि उच्च हुने अपेक्षा गरिएको छ। परम्परागत एक्स–रेको तुलनामा डिजिटल प्रणाली प्रभावकारी, सुरक्षित र वातावरणमैत्री समेत मानिन्छ। यसले चिकित्सकलाई रोग पहिचान गर्न सहज बनाउने विश्वास गरिएको छ।
यो सेवा विशेषगरी आर्थिक रूपमा कमजोर, विपन्न तथा सर्वसाधारण नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो। न्यून शुल्कमै सेवा उपलब्ध गराइने भएकाले स्वास्थ्य सेवामा पहुँच नपुगेका वर्गलाई ठूलो राहत पुग्ने नगरपालिकाको विश्वास छ।
नगर प्रमुख आचार्यले नगरबासीलाई आवश्यक परेमा अस्पतालमा गई नयाँ सेवा उपयोग गर्न अनुरोध गर्दै स्थानीय स्तरमै उपलब्ध सुविधाको अधिकतम प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा अस्पतालमा थप आधुनिक सेवा विस्तार गर्ने योजना समेत रहेको जानकारी दिनुभयो।
डिजिटल एक्स–रे सेवा सुरु भएसँगै कोहलपुर नगर अस्पतालको सेवा दायरा विस्तार हुने मात्र होइन, स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।










