जुम्लाको रंगशाला निर्माणमा सुस्त गति, ४० प्रतिशत मात्र प्रगति

  • नमस्ते कर्णाली

  • २८, साउन २०८२
    जुम्ला । कर्णाली प्रदेशको जुम्लामा करिब दुई वर्षअघि सुरु गरिएको रंगशाला निर्माण कार्य अझै अपूर्ण अवस्थामा छ। प्रदेशस्तरीय खेलकुद पूर्वाधारको रूपमा निर्माण भइरहेको यस परियोजनाले हालसम्म ४० प्रतिशत मात्र भौतिक प्रगति गरेको छ, जसका कारण स्थानीय खेलाडी दैनिकी प्रशिक्षण र प्रतियोगितामा समस्या भोगिरहेका छन्।

    चन्दननाथ नगरपालिका–५ स्थित राजसिममा निर्माणाधीन रंगशालामा ग्राउन्ड लेभलिङ, पर्खाल निर्माण र केही आधारभूत संरचना तयार भए पनि दर्शकदीर्घा, ड्रेसिङ रूम, शौचालयलगायतका आवश्यक सुविधा अझै सुरु भएको छैन। २०८२ भदौ मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य भए पनि हालको गतिले तोकिएको समयमा सम्पन्न हुने सम्भावना कमजोर देखिएको छ।

    ४० करोडको योजना, ८ करोड मात्रै खर्च
    ४० करोड ६२ लाख रुपैयाँ लागतको यो परियोजनाको ठेक्का ‘कविन्द्र निर्माण सेवा’ले लिएको हो। योजनामा रंगशालासँगै सडक कालोपत्रे, पक्की भवन र अन्य ११ संरचना निर्माण समावेश छन्। तर अहिलेसम्म जम्मा ८ करोड ४ लाख रुपैयाँ मात्र खर्च भएको छ, जसमा रंगशालाको ठूलो हिस्सा बाँकी छ।

    नगरपालिका परिसरको पक्की भवन र केही सडक कालोपत्रे कार्य भने सकिएको छ। तर खेल मैदानको काम ढिलो हुँदा स्थानीय खेलाडीहरूलाई प्रतियोगिता आयोजना गर्न नेपाली सेनाको मैदान माग्नुपर्ने बाध्यता छ।

    खेलाडी र पूर्वाधार दुवै संकटमा
    जुम्लाका खेलाडीहरूका अनुसार, स्थायी खेल मैदान नहुँदा अभ्यासमा अवरोध, मौसमको कारण खेल्न कठिनाइ, र राजधानीतर्फ प्रतिभा पलायन हुने समस्या बढेको छ। फुटबल खेलाडी रूभेन भण्डारीले वर्षामा हिलो र हिउँदमा धुलोको कारण खेल्नै नसकिने बताए।

    जिल्ला खेलकुद विकास कार्यालयका प्रमुख कबिदत्त न्यौपानेका अनुसार, जिल्लामा उत्कृष्ट खेल मैदान नहुँदा खेलाडी उत्पादनमा असर परेको छ। रंगशालासँगै कार्यालय परिसरमा बन्ने भनिएको प्याराफिट पनि अधुरो छ।

    अन्य योजनामा पनि ढिलाइ
    जुम्लाको पातारासीमा निर्माण हुन लागेको हाई अल्टिच्युड ट्रेनिङ सेन्टर आठ वर्षदेखि अलपत्र छ। गत आर्थिक वर्षमा विनियोजित ६ करोड २९ लाख बजेटमध्ये अधिकांश रकम खर्च हुन नसकी फ्रिज भएको हो। जग्गा विवाद र स्वामित्वको अस्पष्टताका कारण काम अड्किएको छ।

    ढिलाइका कारण र अपेक्षा
    निर्माण कम्पनीका अनुसार, रकम निकासा ढिलो, सामग्री ढुवानीको कठिनाइ र प्राविधिक समस्या ढिलाइका मुख्य कारण हुन्। यद्यपि, स्थानीयवासीले यो रंगशाला पूरा भएपछि जुम्लामा पहिलोपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर मिल्ने र खेल पर्यटनलाई नयाँ उचाइमा पु-याउने अपेक्षा राखेका छन्।

  • २९ श्रावण २०८२, बुधबार ०७:२६ प्रकाशित

  • Nabintech