३१, साउन २०८२
बाँके ।राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन तथा ओसारपसारको पछिल्लो अवस्था चित्रण गर्न देशव्यापी ‘केन्द्रीकृत समूह छलफल’ सुरु गरेको छ। यस अन्तर्गत आयोगले कोशी र मधेश प्रदेशमा विभिन्न सरोकारवाला निकायसँग अन्तरक्रिया सम्पन्न गरिसकेको छ भने लुम्बिनी प्रदेशअन्तर्गत बुटवल र नेपालगञ्जमा पनि छलफल गरेको छ।
आयोगका सहसचिव नवराज सापकोटाका अनुसार सीमावर्ती क्षेत्र नेपालगञ्जमा मानव बेचबिखन तथा ओसारपसारको जोखिम उच्च भएकाले यहाँका सरोकारवालासँग प्रत्यक्ष अन्तरक्रिया गरी राष्ट्रिय प्रतिवेदनका लागि आवश्यक पृष्ठपोषण सामग्री सङ्कलन गरिएको हो।
कार्यक्रममा बेचबिखनविरुद्ध सक्रिय संघसंस्था, अधिवक्ता, अधिकारकर्मी, पत्रकारलगायतले जिल्लाको वर्तमान अवस्था, नियन्त्रणमा देखिएका चुनौती, अपनाउनुपर्ने रणनीति र विद्यमान त्रुटिहरूबारे धारणा राख्दै सुझाव दिएका थिए।
पछिल्लो अन्तर्राष्ट्रिय प्रतिवेदनअनुसार नेपालमा मानव बेचबिखन र ओसारपसारको अवस्था चिन्ताजनक रहेको छ। आयोगकी सदस्य लिली थापाले मानव बेचबिखनका नयाँ स्वरूप र आयामहरूलाई लक्षित गर्दै अबको रणनीति तय गर्नुपर्ने आवश्यकता औंल्याइन्।
कार्यक्रममा प्रा. डा. गोविन्द सुवेदीले छलफलका लागि तय विषयवस्तु र मानव बेचबिखनको पछिल्लो अवस्थाबारे प्रस्तुति दिए। राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारीसहित करिब डेढ दर्जन सरोकारवालाको सहभागिता रहेको थियो।