सञ्चारिका समूह बाँकेद्वारा महिला पत्रकारहरूको पहिलो ‘तिज ट्यालेन्ट शो’ सम्पन्न

नृत्यमा ममता थापाप्रथम , गायनतर्फ शान्ती सुनार र साहित्यतर्फ निशु जोशी प्रथम


  • नमस्ते कर्णाली

  • २, भदौ २०८२
    बाँके । सञ्चारिका समूह बाँके शाखाले पहिलोपटक आयोजना गरेको महिला पत्रकारहरूका लागि विशेष ‘तिज ट्यालेन्ट शो प्रतियोगिता–२०८२’ कोहलपुरमा सम्पन्न भएको छ। कार्यक्रममा महिला पत्रकारहरूले गायन, नृत्य र साहित्यतर्फ आफ्ना कला र प्रतिभा प्रस्तुत गरेका थिए।

    कार्यक्रमकी प्रमुख अतिथि कोहलपुर नगरपालिकाकी कार्यबहाक नगरप्रमुख सङ्गिता सुवेदीले महिला पत्रकारहरू अरुको कला–क्षमता लेख्दै मात्र सीमित हुने परम्परालाई यो कार्यक्रमले तोडेर आफ्नै प्रतिभा देखाउने अवसर दिएको बताउनुभयो।

    विशिष्ट अतिथि लखनउ सिटी अस्पतालका डा. प्रमोद कुमार पालले तिजलाई महिलाको हर्ष–उल्लास र संस्कृतिको पर्वका रूपमा उल्लेख गर्दै स्वास्थ्य, सामाजिक र सांस्कृतिक दृष्टिले यसको महत्वबारे प्रकाश पार्नुभयो।

    नेपाल पत्रकार महासङ्घ बाँके अध्यक्ष नवीन गिरीले महिला पत्रकारहरूको प्रतिभा उजागर गर्ने माध्यमका रूपमा कार्यक्रमलाई अर्थपूर्ण भएको बताउनुभयो भने उपाध्यक्ष करुणा शाहले सिर्जनशीलता प्रकट गर्ने यो पहलले आगामी दिनमा अझ ठूलो उत्साह जगाउने विश्वास व्यक्त गर्नुभयो।

    त्यस्तै सञ्चारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराजले “तिज पर्वले महिलाले भोग्ने दुख र पीडा भुलाउने मात्र नभई संस्कृतिलाई प्रवर्द्धन गर्ने अवसर दिने बताउनुभयो।”

    , सञ्चारिका समूह संस्थापक अध्यक्ष, अछरी पोख्रेलले“यसरी महिला पत्रकारलाई एउटै मञ्चमा ल्याउने कामले सामूहिकता र एकताको सन्देश दिने बताउनुभयो ।”


    कोहलपुर नगरपालिका वडा नम्बर –२ का वडा अध्यक्ष हरि कठायतले “सामाजिक एकता, संस्कृतिको संरक्षण र महिला सशक्तीकरणमा यस्ता कार्यक्रमले ठूलो योगदान पुर्‍याउने बताउनुभयो।”

    यस्तै महिला नेत्री एवम् समाजसेवी अन्जना पाण्डेले“महिलाको दुःख–पीडा र तनाव भुल्न तिज एक माध्यम हो, यसलाई संस्कृतिसँग जोडेर मनाउनु आवश्यक छ भन्नुभयो।”


    प्रतियोगितामा तीन विधामा प्रतिस्पर्धा भएको थियो। निर्णायक मण्डलमा साहित्यतर्फ कोहलपुरकी साहित्यकार सुमित्रा न्यौपाने, नृत्यतर्फ सयपत्रीकला केन्द्र बाँकेका निवर्तमान अध्यक्ष देवीलाल सुनार र गायनतर्फ लोकदोहोरी प्रतिष्ठान बाँकेका अध्यक्ष बिरेन्द्रसिंह ठकुरी रहनुभएको थियो।

    ट्यालेन्ट सोमा एकल गायनतर्फ : प्रथम – शान्ती सुनार, द्वितीय – काजल रैका, तृतीय – विमला चौधरी,साहित्यतर्फ : प्रथम – निशु जोशी, द्वितीय – विद्युत्मा रैका, तृतीय – शान्ति सुनार र नृत्यतर्फ : प्रथम – ममता थापा, द्वितीय – ज्ञानु थापा, तृतीय – सन्ध्या गरै र सावित्री गिरी हुनुभएको छ।
    नगद पुरस्कारसहित तीनै विधाका प्रथम विजेतालाई पोखरा गहना पसलका सञ्चालक बालकृष्ण दियालीले चाँदीको सिक्का उपहार प्रदान गर्नुभयो।

     

    कार्यक्रमको अध्यक्षता सञ्चारिका समूह बाँके अध्यक्ष पवित्रा परियारले गर्नुभएको थियो। उहाँले मुख्य प्रायोजक लखनउ सिटी अस्पताल, सह–प्रायोजक पोखरा गहना लगायत अन्य सहयोगीलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष सरला सुवेदीले गर्नुभएको थियो भने सञ्चालन ममता थापा र धना केसिले गर्नुभएको थियो।

     

  • २ भाद्र २०८२, सोमबार ०८:०९ प्रकाशित

  • Nabintech