७, भदौ २०८२
बर्दिया ।बर्दिया जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । उपियाँ र किर्नाले टोकेर लाग्ने यो रोग पछिल्ला वर्षहरूमा तीव्र रुपमा फैलिँदै गएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८१/८२ मा मात्र महिलासहित २ हजार १८९ जनामा स्क्रबटाइफस पोजेटिभ देखिएको छ । जसमा महिला १ हजार ३५१ र पुरुष ८३८ जना छन् । यसअघि आर्थिक वर्ष २०८०/८१ मा १ हजार ५०३ जना र २०७९/८० मा २५६ जनामा स्क्रबटाइफस फेला परेको थियो ।
स्वास्थ्य कार्यालय बर्दियाकी सूचना अधिकारी पद्माकुमारी श्रेष्ठका अनुसार, घाँस दाउरा काट्न जाने, जंगल र घरगोठ नजिकै काम गर्ने महिलामा पुरुषभन्दा बढी स्क्रबटाइफस देखिएको छ ।
गत वर्ष सबैभन्दा बढी संक्रमित बारबर्दिया नगरपालिकामा देखिएको थियो । स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलका अनुसार, धान काट्ने सिजनमा विशेषगरी कच्ची घर, गोठ र शौचालय नजिकै बसोबास गर्ने महिलामध्ये बढी संक्रमण देखिन्छ ।
बर्दिया अस्पतालमा साउन महिनामै ५५ जनामा स्क्रबटाइफस पोजेटिभ भेटिएको छ भने गत आर्थिक वर्षमा मात्र ६५० बिरामी उपचारका लागि पुगेका थिए । अस्पतालका फिजिसियन डा. मनोज तिमिल्सिनाले ‘माइट’ भन्ने भुसुनाको टोकाइबाट रोग सर्ने बताउँदै, ज्वरो, टाउको दुखाइ, शरीर दुखाइ र खान मन नलाग्ने लक्षण देखिए तत्काल परीक्षण गर्न आग्रह गर्नुभयो ।
तर, रोगको जोखिम बढ्दै गइरहेको भए पनि परीक्षणका लागि पर्याप्त किट उपलब्ध हुन सकेको छैन । बारबर्दियामा वार्षिक करिब १०० वटा मात्र किट आउने गरेको स्वास्थ्य शाखाले जनाएको छ । पर्याप्त किट नआउँदा बिरामीले अस्पतालमा कम्तीमा ६ सय रुपैयाँदेखि निजी प्रयोगशालामा १ हजार २ सय रुपैयाँसम्म तिरेर परीक्षण गर्नुपर्ने बाध्यता छ ।
स्क्रबटाइफस नियन्त्रणका लागि खेतबारी, जंगल र गोठ नजिक काम गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।