९, भदौ २०८२
बाँके ।रुकुमेली सेवा समाज कोहलपुर नगरकार्य समितिले आफ्नो दोस्रो वार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री कृष्ण केसी नमूनाले समाजले गरेका गतिविधि सराहनीय रहेको उल्लेख गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले रुकुमकी चेली भएकै कारण समाजमा पर्न सक्ने समस्या समाधानमा आफू सदैव साथ रहने बताइन् ।
विशिष्ट अतिथि कोहलपुर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष विरेन्द्र कुमार शाहले रुकुमेली सेवा समाजले जन्मथलोको सम्झना मात्र नभई आपसी सद्भाव, सहिष्णुता र सामीप्यता कायम गर्नुपर्नेमा जोड दिए । उनले समाजका हरेक गतिविधिमा आफू सक्रिय रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा समाजका अध्यक्ष प्रताप देवकोटाले गत वर्षका गतिविधि प्रस्तुत गर्दै दुःख–सुखमा रुकुमेली दाजुभाइ दिदीबहिनीबीच सहकार्य गर्दै आएको बताए । उनले गत वर्ष मात्र समाजका ६ जना सदस्यको निधन भएको उल्लेख गर्दै परिवारजनलाई समाज पुगेर सहयोग र साथ दिएको जानकारी गराए ।
त्यस्तै, वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक एकराज शर्माले रुकुमेली समुदायले विभिन्न थलोमा आफ्नो पहिचान बनाउँदै गएको भन्दै आपसी सद्भाव, आत्मीयता र मेलमिलापमा जोड दिए ।
सामाजिक अभियन्ता भूम भण्डारी, शिक्षाप्रेमी बालकुमार शर्मा, खेलप्रेमी टिकाराम आचार्य, जिल्ला सहकारी संघ बाँकेकी उपाध्यक्ष जानकी पुनलगायतले पनि समाजको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
समाजकी कोषाध्यक्ष शारदा खतिवडाले आर्थिक प्रतिवेदन र अध्यक्ष प्रताप देवकोटाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले पारित गरेको कार्यसमिति सदस्य भीमबहादुर परियारले जानकारी दिए ।
तीज पर्वको अवसरमा समाजले ५०० बढी सहभागीलाई दर खुवाउने कार्यक्रमसमेत गरेको थियो । साथै, रुकुमेली मौलिक संस्कृति झल्किने बैजनाथ गाभरको सिङारु नाच, तीज गीत र नृत्य प्रस्तुत गरिएका थिए ।
कार्यक्रम अध्यक्ष प्रताप देवकोटाको सभापतित्वमा सम्पन्न भएको हो भने सहजीकरण मधु खड्काले गर्नुभएको थियो ।