११, भदौ २०८२
बाँके।नेपालगन्जमा यस वर्षको हरितालिका तीज पर्व सामाजिक सद्भावको नयाँ सन्देशसहित मनाइयो । परम्परागत रातो पहिरन, चुरा र सिन्दूरसहित हिन्दु महिलाहरूसँगै पहिलो पटक मुस्लिम महिलाहरू पनि दर खाने कार्यक्रममा सहभागी भए ।
हिन्दु महिलाले दर खान राखेका परिकारहरूको स्वाद लिन मुस्लिम महिलाहरू उत्साहित देखिए । नेपालगन्ज–४ की ४० वर्षीया नाजमा हल्वाईले भनिन्, “हजुरहरू रातो–रातो लुगा लगाएर, गीत गाउँदै, श्रीमानलाई स्वागत गरेर दर खानुहुन्छ । मलाई पनि रहर लाग्यो, त्यसैले सहभागी भएँ । तीजको गीत सुन्दा मन नै भरिन्छ, कहिलेकाहीँ आँसु पनि आउँछ ।”
नेपालगन्ज घरेलु तथा साना उद्योग महासंघ नगर कमिटीकी अध्यक्ष कालीमिया कस्मीरा खातुनको पहलमा आयोजित तीज कार्यक्रममा करिब एक दर्जन मुस्लिम महिला सहभागी भए । खातुनले भनिन्, “हामी सबै महिलाको साझा खुसी हो तीज । धर्म फरक भए पनि एउटै घरजस्तो भएर रमाइलो गर्न पाउनु ठूलो कुरा हो, यसले सामाजिक सद्भावलाई अझै बलियो बनाएको छ ।”
नेपालगन्ज–१७ की बबी परियारले भनिन्, “हामी सबै एक अर्काका चाडमा सहभागी हुन्छौँ । मुस्लिमहरूले इदमा बोलाउनुहुन्छ, हामीले तीजमा बोलाउँछौँ । यसरी चाडपर्व साट्दा सम्बन्ध अझै मजबुत हुन्छ ।”
त्यस्तै, नेपालगन्ज–१ की रेणु बेल्वासेले मुस्लिम महिलाको सहभागिताले यसपालिको तीज अझै अर्थपूर्ण बनेको बताइन् । “तीज केवल हिन्दु महिलाको चाड भन्ने छैन, यो सहअस्तित्व र साझा खुसीको पर्व हो । यसले हाम्रो समाजमा एकताको सन्देश दिन्छ,” उनले भनिन् ।
यसैगरी, सहभागी मुस्लिम महिला रुबिना आलमले अनुभव सुनाउँदै भनिन्, “पहिलो पटक तीज मनाउँदा धेरै रमाइलो लाग्यो । हिन्दु दिदीबहिनीहरूले बनाएको परिकार स्वादिलो मात्र होइन, गीत–संगीतमा नाच्दा त हामी सबै एउटै परिवारजस्तो भयौँ ।”
नेपालगन्जमा हिन्दु–मुस्लिम समुदायबीच सद्भाव र सहअस्तित्वको लामो परम्परा छ । हिन्दुहरूको दशैं–तिहारमा मुस्लिम समुदायका कतिपय व्यक्तिहरूले रातो टीका, जमरा लगाउने परम्परा छ भने मुस्लिमहरूको इदमा हिन्दु साथी–भाइलाई सेवइँ र मिष्टान्न खुवाउने चलन छ ।
यसपालिको तीजमा मुस्लिम महिलाको सहभागिताले नेपालगन्जको समाजलाई झन् रंगीन बनाएको छ । तीजका गीतहरू गुञ्जिँदा आकाशले एकै सन्देश दिएको जस्तो लाग्यो—
“धर्म फरक भए पनि खुसी साझा हुन्छ ।”