११, भदौ २०८२
जुम्ला । कर्णाली प्रदेशसभाका उपसभामुख यसाेधा न्यौपानेले तिज पर्वलाई महिलाहरूको क्षमता प्रदर्शन र विकासकाे अवसरका रूपमा लिनुपर्ने बताएकी छन्।
जुम्लाको चन्दननाथ नगरपालिका–१ दानसाँघु त्रिवेणीमा तिज विशेष देउडा प्रतियोगितामा सहभागी हुँदै उनले स्थानीय सरकारले तिजलाई सांस्कृतिक महत्त्वसँगै महिलाको प्रतिभा उजागर गर्ने पर्वका रूपमा प्राथमिकताका साथ लिनुपर्नेमा जोड दिइन्।
उपसभामुख न्यौपानेले धार्मिक पर्यटनकाे दृष्टिले दानसाँघु क्षेत्रलाई बिस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै यसलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन्। उनले तिजको नाममा महँगा होटल, गहना र कपडामा ठूलो धनराशि खर्च गर्ने बढ्दो चलनलाई न्युनिकरण गर्नुपर्ने धारणा राख्दै, यसले समाजमा धनी–गरिबबीच विभाजन झल्काउने भएकाले सतर्क रहन आग्रह गरिन्।
प्रतियोगितामा चर्चित देउडा गायक बिपना सिंह र जुम्लाका धिरज जैसीबीच दिनभर देउडा प्रतियोगिता चलेको थियो। वडाध्यक्ष तथा प्रतियोगिता समितिका अध्यक्ष तिलक प्रसाद न्यौपानेले खस सभ्यताको जगेर्ना र तिजलाई प्रतिभा पहिचान गर्ने माध्यमका रूपमा प्रतियोगिता आयोजना गरिएको बताए।
यसैबीच, जुम्लाको टुडिखेलमा सयौँ महिला भेला भई नाचगानसहित तिज मनाइएको थियो, जसको अवलोकन उपसभामुख न्यौपानेले समेत गरेकी थिइन्। यस्तै, जुम्लाका आठै स्थानीय तह र ६० वडामा तिज पर्व उल्लासपूर्वक मनाइएको छ।