मुख्यमन्त्री कँडेल : दोषारोपण होइन, आशा र विश्वास दिलाएर मात्र राजनीति र विकास अघि बढ्छ

  • नमस्ते कर्णाली

  • १२, भदौ २०८२

    सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मूलधारका ठूला तीन दलले एक–अर्कालाई दोषारोपण गरेर पन्छिन नमिल्ने बताएका छन्। सुर्खेतको रामघाटमा बुधबार नवनिर्मित प्रहरी चौकीको उद्घाटन गर्दै उनले निराशा बाँडेर जनताबाट विश्वास जित्न नसकिने प्रष्ट पारे।

    उनले दलीय मतभिन्नतालाई थाती राखेर जनतामाझ आशा र विश्वास दिलाउन सके मात्रै राजनीति र विकासले सही बाटो पहिल्याउने धारणा राखे। “हामी पालैपालो सत्ता सञ्चालन गरिरहेका छौं, भएका राम्रा कामहरूलाई प्रष्टसँग जनतामाझ राख्न सक्नुपर्छ,” मुख्यमन्त्री कँडेलले भने, “यसो गर्न सके जनतामा व्यवस्थाप्रतिको भरोसा अझ प्रबल हुन्छ।”

    मुख्यमन्त्री कँडेलले विकास जुन तहको सरकारले गरे पनि त्यसलाई यही व्यवस्थाको उपज मानेर सामूहिक दृष्टिले हेर्नुपर्ने आवश्यकता औंल्याए। कमजोरीहरूलाई सुधार्दै अघि बढ्नुपर्ने तर “केही नभएको” भन्न मिल्दैन भन्दै उनले पछिल्ला वर्षमा पर्याप्त काम भएको दाबी गरे।

    पुर्ख्यौली पुस्तामा देखिएको धैर्यता अहिलेको पुस्तामा नदेखिएको उल्लेख गर्दै उनले समाज र विकासको गति बुझेर अघि बढ्नुपर्नेमा जोड दिए। “हामीले ५० वर्षपछि नयाँ प्रहरी चौकी पायौं, तर अहिलेको पुस्ताले यतिका वर्ष पर्खन सक्दैन,” उनले भने, “त्यसैले हामी जिम्मेवार व्यक्तिहरूले इमान्दारपूर्वक काम गरेर जनतामा विश्वास दिलाउन सक्नुपर्छ।”

    साथै उनले भौतिक पूर्वाधार र उपकरण मात्र नभई प्रहरीको व्यवहार पनि जनमैत्री हुनुपर्ने आवश्यकता औंल्याए।

    कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश सरकारले प्रहरीलाई सबल, सक्षम र सुविधासम्पन्न बनाउने ध्येयका साथ विभिन्न स्थानमा भवन निर्माणको योजना अघि बढाएको बताए। पूर्वमन्त्री खड्कबहादुर खत्रीले तमाम चुनौतीका बाबजुद भवन सम्पन्न भएकोमा खुसी व्यक्त गरे भने भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले नयाँ भवनबाट शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी सफल हुने विश्वास व्यक्त गरे।

    प्रहरी चौकी भवन निर्माणका लागि गाल्वा/क्याराभान/सुपरस्टार जेभी काठमाडौं र जिल्ला प्रहरी कार्यालय सुर्खेतबीच २०७६ जेठ ११ गते सम्झौता भएको थियो। एक करोड ५७ लाख ५८ हजार रुपैयाँ लागत अनुमान भए पनि भवन एक करोड ३२ लाख रुपैयाँमै सम्पन्न गरिएको हो। ३०२ वर्ग मिटर क्षेत्रफलमा बनेको तिनतले भवनमा ब्यारेक, अफिस, गार्ड रुम, हिरासत, मनोरञ्जन कक्ष, शौचालय, मेस लगायतका सुविधा समावेश छन्।

    भवन उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. पुष्पराज शाही, कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी माधव प्रसाद श्रेष्ठ, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायलगायतको उपस्थिति रहेको थियो।

  • १२ भाद्र २०८२, बिहीबार ०८:०६ प्रकाशित

  • Nabintech