सुर्खेत, १४ भदौं ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा लगानी गर्ने विषयमा अन्य प्रदेशसँग तुलाना नगर्न बैंकहरुलाई आग्रह गरेका छन् । बिहिबार प्रदेश सरकारको वार्षिक कार्यक्रम अन्तर्गत कृषि तथा उद्यम व्यवसायमा ब्याज अनुदानलाई सरल र सहज बनाउन कर्णाली प्रदेशलाई कार्यक्षेत्र बनाएका वाणिज्य तथा विकास बैंकका प्रदेशस्तरिय प्रमुखहरूसँगको अन्तरक्रियात्मक छलफलमा मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् ।
उनले कर्णालीमा गर्ने लगानीलाई अरू प्रदेशसँग तुलना नगरी यहाँको आवश्यकताको आधारमा बैंकहरुले सरलिकृत सेवासहित लगानीको वातावरण बनाउँदै लैजानु पर्नेमा जोड दिए । छलफलमा बैंकका कतिपय असजिला नीतिले नयाँ पुस्तालाई उद्यमशिलतामा आकर्षित गराउन नसकिएको विषयमा गम्भीर भएर सोच्ने बेला आएको मुख्यमन्त्री कँडेलले बताए । प्रदेश सरकारले अघि सारेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएका अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकहरुबाट सहयोगको अपेक्षा गरेको उनले बताए ।
मुख्यमन्त्री कँडेलले कर्णालीबाट रोजगारीको बिदेशिने जनशक्तिलाई यही कुनै उद्यम व्यवसाय संचालन गर्न सकिन्छ भन्ने सोचको विकास गराउने तर्फ बैकहरुले वित्तिय साक्षरता चलाउनुपर्ने सुझाव दिए । उनले भने, ‘सेवाग्राही बैक खोज्दै होइन, ’तपाईहरु सेवाग्राही खोज्दै जानुस ।’
मुख्यमन्त्री कँडेलले उद्यम व्यवसायमा जति लगानी बढायो त्यतिनै आर्थिक क्षेत्र चलायमान हुने र रोजगारी सिर्जना हुने हुँदा बैंकहरुले सेवाग्राहीको पहुँचलाई सरलीकृत बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘तपाईहरुले यहाँ काम गर्नु भएको छ । बैंकका पनि आ–आफना सीमाहरु होलान तर नागरिकलले महशुुस हुने सरलीकृत गर्ने काममा कमजोरी देखिन्छ ।’ बंैकहरुले सम्पत्ति मूल्याकंनमा समेत विभेद गरेको आफूले सुनेको बताउँदै मुख्यमन्त्री कँडेलले लगानीको जोखिम नहुने गरि सम्पत्ति मूल्यांकनमा विभेद नगर्न बैकहरु आग्रह गरे ।