मुगुको ऐतिहासिक विद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययन औपचारिक रूपमा सुरु

  • नमस्ते कर्णाली

  • मुगु ,१६ भदौ ।

    मुगु जिल्लाको सदरमुकाम गमगढीस्थित जिल्लाकै जेठो शैक्षिक संस्था श्री महाकाली नमुना माध्यमिक विद्यालयमा प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषयको पढाइ औपचारिक रूपमा सुरु गरिएको छ।

    विद्यालयको ऐतिहासिक भवनको खुल्ला चौरमा आइतबार आयोजित विशेष समारोहमा माननीय मानव बन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले कक्षा ९ को सिभिल इन्जिनियरिङ पढाइ उद्घाटन गर्नुभयो।

    वि.सं. २०११ सालमा स्थापना भएको यस विद्यालयमा हाल चारै पालिकाबाट आएका ८३३ विद्यार्थी अध्ययनरत छन्। यसै शैक्षिक सत्रदेखि सुरु गरिएको प्राविधिक धारमा कक्षा ९ का ५५ विद्यार्थीले सिभिल इन्जिनियरिङ रोजेका छन्। छायानाथ रारा नगरपालिकाको सहयोगमा सञ्चालन भएको यस कार्यक्रमका लागि नगरपालिकाले रु. ३३ लाख बजेट व्यवस्थापन गरेको नगर प्रमुख विष्णुकुमार भामले जानकारी दिनुभयो।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले जिल्लाकै पहिलो विद्यालयमा प्राविधिक धार सुरु हुनु ऐतिहासिक उपलब्धि भएको बताउँदै यसले ग्रामीण भेगका विद्यार्थीलाई आफ्नै जिल्लामै रोजगारीमुखी शिक्षा हासिल गर्ने अवसर दिने विश्वास व्यक्त गर्नुभयो।

    त्यसैगरी कर्णाली प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री मङ्गलबहादुर शाहीले गरिब र पिछडिएका बालबालिकाका लागि यस विद्यालयलाई आवासीय विद्यालय आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मन्जनबहादुर कार्की, छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम, विद्यालयका प्रधानाध्यापक खड्गबहादुर रोकाया लगायतले समेत आफ्ना विचार व्यक्त गर्नुभएको थियो।

  • १६ भाद्र २०८२, सोमबार ०८:५८ प्रकाशित

  • Nabintech