लुम्बिनी प्रदेशमा साउन महिनामै ४३ जनाको मृत्यु, १५४ घाइते र करोडौंको क्षति

  • नमस्ते कर्णाली

  • १८, भदौ २०८२
    बाँके ।लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न प्रकारका विपद्‌का कारण ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् ।

    उक्त महिनामा बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण, चट्याङलगायत ३३५ वटा विपद् घटना घटेका थिए । ती घटनाले ठूलो मानवीय क्षतिसँगै रु ५१ लाख बराबरको भौतिक क्षति पनि पु¥याएको अनुमान गरिएको छ ।

    प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार साउन महिनामा मात्रै बाढीमा परेर दुई, पानीमा डुबेर २७, आगलागीमा परेर एक, विषाक्त खाद्य सेवनबाट चार, सर्पदंशका कारण आठ र अन्य कारणबाट एक गरी ४३ जनाको मृत्यु भएको हो ।

    ज्यान गुमाउनेमध्ये दाङमा सात, कपिलवस्तुमा नौ, रुपन्देहीमा पाँच, बाँकेमा दुई, गुल्मीमा दुई, पाल्पामा दुई, प्युठानमा चार, बर्दियामा तीन, अर्घाखाँचीमा दुई, नवलपरासी पश्चिममा दुई, रुकुमपूर्वमा एक र रोल्पामा चार जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

    यस अवधिमा २१ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १२ घर आंशिक क्षतिग्रस्त भएका छन् । त्यस्तै, एक सरकारी भवन पूर्णरूपमा क्षतिग्रस्त हुँदा दुई भवनमा आंशिक क्षति पुगेको छ । पशु क्षतिमा ३० र गोठ क्षतिमा २० को विवरण समेत केन्द्रले सार्वजनिक गरेको छ ।

    प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार विपद् न्यूनीकरण तथा उद्धारमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको सहकार्यलाई अझ सशक्त बनाउने तयारी भइरहेको छ ।

  • १८ भाद्र २०८२, बुधबार १२:४४ प्रकाशित

  • Nabintech