२०, भदौ २०८२
सुर्खेत ।सुर्खेत प्रहरीले नक्कली बिहे गराई ठगी गर्ने समूहका दुई जनालाई पक्राउ गरेको छ।
फेसबुकसहितका सामाजिक सञ्जालमार्फत नक्कली आमाबाबु, छोरी बनेर नगद तथा गरगहना ठगी गरेको उजुरीका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेख साँडु घर भई वीरेन्द्रनगर–१० बस्ने ४० वर्षीय गोपालकुमार विक र अछाम तुर्माखाँद–३ घर भई त्यही वडामा बस्ने ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढ्थापाका अनुसार एउटै महिलालाई फरक–फरक मितिमा विभिन्न पुरुषसँग विवाह गराई नगद र गरगहना लुटेको उजुरी परेको थियो। अनुसन्धानकै क्रममा उनीहरूको साथबाट बिहेमा प्रयोग गरिएका कपडा, सुनका गरगहना र बिहेका तस्बिरहरू समेत बरामद गरिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये विक र मगर आमाबाबु बनेर ठगीमा संलग्न रहेको खुलेको छ भने दुलही बनेकी महिलाको खोजी भइरहेको छ। उनीहरूमाथि आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।











