पर्यटन प्रवर्द्धनका लागि अन्तरप्रदेशीय सहकार्य आवश्यक : मन्त्री न्यौपाने

  • नमस्ते कर्णाली

  • २१, भदौ २०८२
    बाँके । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले अन्तरप्रदेशीय समन्वय र सहकार्य बिना पर्यटन प्रवर्द्धन सम्भव नभएको बताउनुभएको छ।

    गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच पर्यटन अन्तरसम्बन्ध खोज्ने उद्देश्यले नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उहाँले पर्यटकलाई नेपाल भित्र्याउने मात्र नभई उनीहरूको बसाइँ लम्ब्याउन पनि अन्तरप्रदेशीय सहकार्य अपरिहार्य रहेको औंल्याउनुभयो।

    उहाँले प्रदेशका पर्यटकीय क्षेत्रहरूको पर्याप्त प्रचारप्रसार नहुँदा अपेक्षित मात्रामा पर्यटक आकर्षित गर्न नसकिएको उल्लेख गर्दै सुरक्षा निकायको असहयोगले आवागमन सहज नबनेको गुनासो समेत गर्नुभयो। “जमुनाह र बेलरी नाकाबाट प्रवेश गर्ने पर्यटकहरूले बाटोभरी अनावश्यक चेकजाँचको दुःख भोगिरहेका छन्। सुरक्षाकर्मी उच्च अधिकारीसँग पटक–पटक छलफल गर्दा प्रतिवद्धता त आउँछ, तर कार्यान्वयन हुँदैन,” मन्त्री न्यौपानेले भन्नुभयो।

    उहाँले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रको सक्रियता अपरिहार्य रहेको र मन्त्रालयले आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो।

    यस अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले भारतीय पर्यटकको सहज आवागमनका लागि विशेष पहल आवश्यक रहेको धारणा राख्नुभयो।। उहाँले लुम्बिनी, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज जस्ता गन्तव्यका कारण प्रदेशको पर्यटन सम्भावना विशाल रहेको बताउनुभयो।

    कार्यक्रममा नाट्टा गण्डकी प्रदेश अध्यक्ष किशोर दाहाल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख युवराज गुरुङ, नाट्टा पाल्पा च्याप्टर अध्यक्ष राजिव शाह, नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, नेपालगञ्ज उद्योग वाणिज्य संघ महासचिव भीमबहादुर रानाभाट लगायतका सहभागीले पर्यटन प्रवर्द्धनका लागि आफ्ना सुझाव दिनुभएको थियो।

    कार्यक्रमको विषय प्रवेश नाट्टा गण्डकीका द्वितीय उपाध्यक्ष तथा संयोजक राजेश पहाडीले गराएका थिए भने सहजीकरण महासचिव चेतन कार्कीले गर्नुभएको थियो।।

     

  • २१ भाद्र २०८२, शनिबार ०८:०७ प्रकाशित

  • Nabintech