२१, भदौ २०८२
सुर्खेत ।नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने संवैधानिक व्यवस्था भए पनि कर्णाली प्रदेशमा स्वास्थ्य बीमाको पहुँच अझै न्यून देखिएको छ। स्वास्थ्य सेवामा आर्थिक जोखिम घटाउँदै सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले नेपाल सरकारले करिब एक दशकअगाडि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम कर्णालीमा प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।
स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रादेशिक कार्यालयका अनुसार प्रदेशको करिब १६ लाख ८८ हजार जनसंख्यामध्ये पाँच लाख ३९ हजार मात्रै स्वास्थ्य बीमामा आवद्ध छन्। यो कुल जनसंख्याको ३२ प्रतिशत मात्र हो। त्यस्तै, कुल तीन लाख ६६ हजार परिवारमध्ये ४० प्रतिशतले मात्र बीमा गरेका छन्। सहभागीमध्ये पनि सक्रिय बीमितको संख्या अझै घट्दो छ।
हालसम्म कर्णालीका ७९ पालिकामध्ये ३४ पालिकामा मात्र प्रथम सेवा बिन्दु विस्तार भएको छ भने ४५ पालिकामा स्वास्थ्य बीमा सेवा पुग्न सकेको छैन। प्रदेशभर सेवा प्रदायक स्वास्थ्य संस्था जम्मा ३६ मात्र छन्।
स्वास्थ्य बीमा बोर्डका संयोजक महेशप्रसाद ठाकुरका अनुसार जनचेतनाको कमी, ऐन तथा कार्यविधि कार्यान्वयनमा समस्या, स्रोतसाधनको अभाव, जनशक्ति र पूर्वाधारको कमी, इन्टरनेट र सफ्टवेयर सुविधा नहुनु लगायत कारणले बीमा विस्तारमा चुनौती देखिएको हो।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले गरिबीको रेखामुनी रहेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा स्वास्थ्य बीमा अझै नफैलनु दुखद् रहेको बताए। उनका अनुसार सरकारले यसै वर्षदेखि बीमा दर्ता र नवीकरण अनलाइनमार्फत सहज बनाउने, सेवा प्रदायक संस्थालाई तालिम दिने र विपन्न नागरिकलाई बीमामा समेट्ने योजना अघि सारेको छ।
यसैबीच, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन संस्थागत सुधार आवश्यक रहेको बताए। उनका अनुसार स्वास्थ्य सेवा प्रदायक अस्पतालमा जनशक्ति अभाव, लामो प्रतीक्षासूची र संरचनागत कमजोरीका कारण नागरिक निराश भएका छन्। “बीमा गर भनेर मात्र दायरा बढ्दैन, गुणस्तरीय सेवा दिन सक्ने संरचना बनाउन जरुरी छ,” मन्त्री भण्डारीले भने।
विशेषज्ञहरूका अनुसार कर्णालीमा स्वास्थ्य बीमाको दायरा विस्तार गर्न स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने, स्वास्थ्य बीमा सेवासँग टेलिमेडिसिन जस्ता आधुनिक प्रविधि जोड्नुपर्ने र नागरिकलाई जनचेतना अभिवृद्धि गर्नुपर्ने देखिएको छ।











