२६, भदौ २०८२
बाँके । बाँकको सदरमुकाम नेपालगन्ज र कोहलपुरमा बुधवार जेनजी आन्दोलनकारीहरुले गरेको आगजनी र तोडफोडबाट करिब १० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। जिल्लाका जनतासँग प्रत्यक्ष सरोकार राख्ने करिब एक दर्जन बढी सरकारी कार्यालयहरु ध्वस्त भएका छन्।
आन्दोलनकारीहरुले नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला अदालत, उच्च अदालत नेपालगन्ज इजलाश, मालपोत तथा भूमिसुधार कार्यालय, नापी कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, यातायात कार्यालय, राजस्व अनुसन्धान कार्यालय कोहलपुर, ईलाका प्रशासन कार्यालय लगायतका भवनहरुमा आगजनी गर्दै सम्पूर्ण सामग्री, कागजपत्र, सयौं मोटरसाइकल र गाडीहरु समेत जलाएर नष्ट गरेका छन्।
यसअघि आन्दोलनकारीहरुले पासाङल्हामु मार्गस्थित नेकपा (एमाले) बाँकेको कार्यालय र सुर्खेत रोडमा रहेको नेपाली काँग्रेसको कार्यालयमा समेत आगो लगाएका थिए। त्यस्तै, पुष्पलाल चोकको शालिक र विपि चोकमा रहेको विपि कोइरालाको शालिकसमेत तोडफोड गरेर ध्वस्त बनाइएको छ।
आगजनीको धुवाँले नजिकैको भेरी अस्पतालमा बिरामीको उपचारमा समेत अवरोध सिर्जना भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार उच्च अदालत, जिल्ला अदालत र मालपोत कार्यालयमा लागेको आगोबाट निस्केको बाक्लो धुवाँले अस्पताल पुरै छोपिँदा बिरामीलाई थप जोखिम बढेको थियो।
सोमबार काठमाडौँदेखि देशका विभिन्न ठाउँमा जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको थियो। त्यसैप्रति आक्रोश व्यक्त गर्दै बाँकेका युवाहरुले बुधवार बिहानैदेखि नेपालगन्ज, कोहलपुर र खजुरामा टायर बालेर प्रदर्शन गरेका थिए।