२९, भदौ २०८२
बर्दिया।केही दिनदेखिको मुसलधारे वर्षापछि आएको बाढीले बर्दियाको ठाकुरबाबा नगरपालिकाका विभिन्न वडाहरूमा ठूलो असर पारेको छ। वडा नम्बर ६, ७ र ८ का १०० भन्दा बढी घर डुबानमा परेका छन्।
बर्दिया राष्ट्रिय निकुञ्जबाट बग्ने खरे खोलामा आएको बाढी र अघाई नदी गिट्ठे नालामा मिसिँदा स्थानीय बस्तीहरूमा पानी पसेको हो।
मानवीय क्षति नभए पनि घर, चौपाया, लत्ताकपडा, खाद्यान्नदेखि खेतबारीमा लगाइएको धानबालीसम्ममा ठूलो क्षति पुगेको छ।
स्थानिय रीता थारु भन्नुहुन्छ– “बाढीले घरभित्रै पानी पस्दा भित्तासम्म ढाल्यो, खेतमा लगाएको पाक्ने बेलाको धान समेत नष्ट गरायो।”
नगरपालिकाको तथ्यांकअनुसार ५९९ घर प्रभावित भएका छन्। तीमध्ये ११९ घरभित्रै पानी पस्दा ५५ घर पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको छ।
शुक्रबार बसेको ठाकुरबाबा नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले चार चरणीय कार्ययोजना सार्वजनिक गरेको छ।
नगरप्रमुख तिलकराम लम्सालका अनुसार
“पहिलो चरणमा प्रभावितलाई आधारभूत आवश्यक सामग्री उपलब्ध गराउने, दोस्रो चरणमा विस्तृत तथ्यांक संकलन गर्ने, तेस्रो चरणमा पुनर्निर्माण गर्ने र चौथो चरणमा संघ–संस्थासँग सहकार्य गर्दै राहतलाई एकद्वार प्रणालीमार्फत लैजाने निर्णय गरिएको छ।”
बर्दिया राष्ट्रिय निकुञ्जबाट बग्ने खोलामा प्रत्येक वर्ष पानीको बहाव बढ्दा बस्ती डुबानमा पर्ने गरेको स्थानीय अनुभव छ। विज्ञहरूले समयमै खहरे खोलाको व्यवस्थापन र सफाइ गर्न सके यस्तो क्षति घटाउन सकिने सुझाव दिएका छन्।