३०, भदौ २०८२
बाँके।जेन-जीको नेतृत्वमा भएको सशक्त प्रदर्शनपछि उत्पन्न असहज परिस्थितिले केही दिन बन्द रहेको नेपालगन्ज नाका शनिबारदेखि पुनः सञ्चालनमा आएको छ। नाका खुलेसँगै सीमावर्ती भारतीय बजारमा किनमेल गर्ने नेपालीको घुइँचो लागेको देखिएको छ।
नेपालगन्जको जनजीवन सामान्य हुँदै गएपछि भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले आवतजावतलाई सहज बनाएको हो। नेपालगन्ज भन्सार कार्यालयले पनि आंशिक रूपमा सेवा सुरु गरेको छ।
भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले शुक्रवारदेखि पेट्रोलियम पदार्थ आयात सुरु भएको जानकारी दिनुभयो। यस्तै, जमुनाहा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीका अनुसार, भारतले अनुमति दिएका व्यक्तिहरूलाई चेकजाँचपछि नेपाल प्रवेश गर्न दिइएको छ।
यद्यपि, स्थिति पूर्ण रूपमा सामान्य भइसकेको भने छैन। केही दिनअघि प्रदर्शनकारीले जमुनाहा प्रहरी चेकपोस्ट, इलाका प्रहरी कार्यालय र भन्सार यात्रु शाखामा तोडफोड र आगजनी गरेका थिए। त्यसबाट संरचनात्मक क्षति पुगेको छ, जसको पुनः निर्माणमा केही समय लाग्ने देखिएको छ।
सुरक्षा निकाय, भन्सार प्रशासन र स्थानीय तहको समन्वयमा स्थिति सुधारको प्रयास जारी छ। जनताको दैनिक जीवनलाई सहज बनाउन र सीमावर्ती आर्थिक गतिविधिलाई पुनः गतिशील बनाउन प्रशासन अग्रसर भएको देखिएको छ।