३, असोज २०८२
बर्दिया ।बर्दियाको गेरुवा गाउँपालिका–५ बिन्द्रामा रहेको सरस्वती आधारभूत विद्यालयले विपन्न आर्थिक अवस्था भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न अनौठो पहल गरेको छ। विद्यालयले आफ्नै जग्गामा तरकारी खेती सुरु गरेर विद्यार्थीलाई पढाइमा सहयोग गर्ने काम थालेको हो।
विद्यालयले ३ कठ्ठा जग्गामा खुर्सानी, प्याज, भान्टा लगायत तरकारी रोपेका साथै ३० केजी बीउबाट च्याउ उत्पादन गरेर बिक्रीसमेत गरेको छ। तरकारी र च्याउ बिक्रीबाट भएको आम्दानी विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री किन्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ।
शिक्षिका रामकुमारी चौधरीका अनुसार, “एकातिर विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन मिल्छ भने अर्कोतिर विद्यालयको आम्दानी विपन्न विद्यार्थीलाई सहयोगमा प्रयोग गर्न पाउँदा खुशी लागेको छ।”
त्यस्तै, विद्यालयका प्रधानाध्यापक योगेन्द्रकुमार चौधरीले भने, “कक्षा ६, ७ र ८ का विद्यार्थीलाई समेत सहभागी गराएर खेती गरिएको हो। यसले विद्यार्थीलाई श्रमको मूल्य र उद्यमशीलताको महत्व बुझ्न पनि सहयोग पुर्याएको छ।”
विद्यार्थीहरू पनि यस कार्यबाट उत्साहित छन्। कक्षा ८ मा अध्ययनरत विद्यार्थी मनिषा चौधरीले भनिन्, “हामीले आफ्नै हातले गरेको खेतीबाट साथीहरूको पढाइमा सहयोग पुग्ने भन्ने सोच्दा गर्व लाग्छ।”
यस्तै, कक्षा ७ का विद्यार्थी सन्तोष थारु भन्छन्, “पढाइसँगै खेती गर्न सिक्दा रमाइलो भएको छ। हाम्रो मेहनतले साथीलाई किताब र कापी किन्न सजिलो हुन्छ भन्ने कुरा विशेष लाग्छ।”
ब्युल्डअन नेपाल र विद्यालयको २१ हजार लगानीमा सुरु गरिएको खेतीबाट अहिले राम्रो उत्पादन भइरहेको विद्यालय प्रशासनले जनाएको छ। हाल विद्यालयमा २५५ जना विद्यार्थी अध्ययनरत छन् भने विद्यालयको अन्य कुनै आम्दानी स्रोत नभएकाले यस किसिमको पहल गर्नुपरेको बताइएको छ।