सालको पातबाट दुना–टपरी उद्योग: बारबर्दियाका महिलाहरूको आत्मनिर्भरता र वातावरणमैत्री पहल

  • नमस्ते कर्णाली

  • बर्दिया ,५ असोज।
    बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका महिलाहरूले स्थानीय स्रोतको सदुपयोग गर्दै आर्थिक आत्मनिर्भरता हासिल गर्ने उदाहरण प्रस्तुत गरेका छन्। बारबर्दिया नगरपालिका–७ का मध्यवर्ती सामुदायिक वन उपभोक्ता महिलाहरूले वनमा खेर गइरहेका सालका पात संकलन गरी दुना–टपरी उद्योग सञ्चालन थालेका हुन्।

    आर्थिक अवस्था कमजोर भएका १० जना महिलाले समूह बनाई यस उद्योगलाई अगाडि बढाएका छन्। नगरपालिकाले तालिम, वडा कार्यालयले दुना–टपरी बनाउने मेशिन उपलब्ध गराएपछि उनीहरू व्यवसायिक रूपमा सक्रिय भएका हुन्। यसले महिलाहरूको जीवनस्तर सुधारसँगै वातावरणमैत्री उत्पादनलाई पनि प्राथमिकता दिएको छ।
    दुना–टपरी बनाउने समूहकी सदस्य मीना थारू भन्छिन्, “पहिले पैसा कमाउने विकल्पै थिएन। घरधन्दा गरेर जीवन गुजारिन्थ्यो। तर अहिले सालको पात प्रयोग गरेर दुना–टपरी बनाउन थालेपछि आम्दानी बढेको छ। मासिक ५ देखि ६ हजार रुपैयाँ कमाइ हुन्छ। यसले हाम्रो घरखर्च चलाउन ठूलो सहयोग पुगेको छ।”

    उनका अनुसार बजारमा दुना–टपरीको माग बढ्दै गएको छ। विवाह, पूजापाठदेखि दैनिक प्रयोजनसम्म यसको प्रयोग भइरहेकाले उत्पादन सजिलै बिक्री हुने गरेको छ।

    त्यस्तै, अर्की सदस्य सीता कुमारी चौधरीले भनिन्, “यसअघि हामीलाई बाहिर काम गर्न लाज लाग्थ्यो। अहिले भने आफ्नै घर नजिकै बसेर उत्पादन गर्न पाइन्छ। यसले आत्मविश्वास बढाएको छ। आम्दानीसँगै समाजमा हाम्रो भूमिकाबारे मान्यता पनि बढेको छ।”

    सीताको भनाइमा दुना–टपरी व्यवसायले महिलाहरूलाई परिवारको भरमा मात्र निर्भर रहनु नपर्ने अवस्था सिर्जना गरेको छ। “पहिले श्रीमान वा छोराछोरी कमाइ गरेर ल्याएपछि मात्रै खर्च चल्थ्यो। अहिले आफ्नै आम्दानी भएकाले केही किन्न, छोराछोरीलाई पढाउन सजिलो भएको छ,” उनले थपिन्।

    त्यस्तै, समूहकी अर्की सदस्य मञ्जु थारूले भनिन्, “हामीले सामूहिक रूपमा सुरु गरेको यो कामले धेरै कुरा सिकायो। तालिमपछि अब अरू महिलाहरूलाई पनि सिकाउन सक्ने आत्मविश्वास आएको छ। सामूहिक रूपमा काम गर्दा खर्च, आम्दानी र जिम्मेवारी बाँडफाँड गर्न सजिलो भएको छ।”
    स्थानीय वडा कार्यालयले महिलाहरूको यो प्रयासलाई निरन्तर साथ दिइरहेको छ। वडा अध्यक्ष इन्द्रप्रसाद थारूका अनुसार दुना–टपरी उद्योग महिलालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण माध्यम बनेको छ। उनले भने, “सालको पात खेर गइरहेका थिए। महिलाहरूलाई तालिम दिएर मेशिन उपलब्ध गराइएको छ। यसले महिलालाई आय–आर्जनको बाटो खोल्नुका साथै वातावरण संरक्षणमा पनि योगदान पुगेको छ।”

    उनका अनुसार दुना–टपरी प्रयोगले प्लास्टिकको प्रयोग घटाउने र स्थानीय उत्पादनलाई प्राथमिकता दिने अभियानलाई बल पुग्छ।
    वातावरणमैत्री अभ्यास

    सालको पातबाट बनेको दुना–टपरी पूर्ण रूपमा प्राकृतिक र नष्ट हुनसक्ने भएकाले यसले वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गरेको छ। प्लास्टिकका गिलास, प्लेट र चम्चाले वातावरणमा पर्ने नकारात्मक असरलाई कम गर्नेमा यस उद्योगबाट आशा गरिएको छ।

    समूहका महिलाहरूले प्लास्टिकको सट्टा दुना–टपरी प्रयोगलाई घर–घरमा प्रोत्साहन गरिरहेका छन्। यसले वातावरण जोगाउनका साथै स्थानीय स्रोतलाई प्रयोग गरेर उत्पादक बन्ने उदाहरण पनि देखाएको छ।

    महिलाहरूको यो सानो प्रयासले स्थानीय बजारमा ठूलो सम्भावना देखाएको छ। विवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठानलगायत सामाजिक कार्यक्रमहरूमा दुना–टपरीको प्रयोग अनिवार्य झैँ हुने भएकाले माग निरन्तर रहन्छ।

    नगरपालिकाले अझ थप सहयोग गर्ने योजना बनाइरहेको छ। आगामी दिनमा उत्पादनलाई थप गुणस्तरीय बनाउन तालिम विस्तार गर्ने, बजार व्यवस्थापनमा सहयोग गर्ने र महिलाहरूलाई सहुलियत ऋण उपलब्ध गराउने योजना रहेको वडा अध्यक्ष थारू बताउँछन्।
    बारबर्दियाका महिलाहरूले सालको पात संकलन गरेर सुरु गरेको दुना–टपरी उद्योगले उनीहरूलाई आत्मनिर्भर बनाउन मात्र होइन, वातावरण संरक्षणमा समेत योगदान दिएको छ। मीना, सीता र मञ्जु थारू जस्ता महिलाहरूको अनुभवले देखाएको छ—स्रोत र अवसर उपलब्ध भए महिलाहरूले समाज र परिवार दुवैको विकासमा महत्वपूर्ण योगदान दिन सक्छन्।

     

  • ५ आश्विन २०८२, आईतवार १०:२८ प्रकाशित

  • Nabintech