५, असोज २०८२
बाँके ।नेपालगन्जस्थित पश्चिम नेपालको प्रमुख रिफरल सेन्टर भेरी अस्पतालमा डेढ वर्षदेखि सिटी स्क्यान नचल्दा विपन्न बिरामी उपचारमा समस्यामा परेका छन्। करिब १८ महिनादेखि बिग्रिएको सिटी स्क्यान मर्मत वा नयाँ खरिद नहुँदा बाँके, बर्दिया लगायत २४ जिल्लाबाट आएका दुर्घटनाग्रस्त तथा न्युरो सम्बन्धी बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्।
भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. निराजन सुवेदीले सिटी स्क्यानको ट्युब बिग्रिएपछि मन्त्रालयलाई पटक–पटक जानकारी दिइएको भए पनि आवश्यक कार्य नहुँदा बिरामीलाई दुःख भइरहेको बताउनुभयो।
उहाँका अनुसार“मन्त्रालयसँग पटक–पटक पहल गर्दा यसपटक मात्रै करिब १ करोड ३२ लाख बजेट छुट्याइएको थियो। तर हालको देशको परिस्थितिका कारण मन्त्रालयले उपकरण खरिद र मर्मत–सम्भार हाललाई नगर्न मौखिक निर्देशन दिएको छ। पुरानो मेसिन मर्मत गर्नभन्दा नयाँ खरिद गर्ने प्रयास भएको थियो तर अहिलेसम्म सम्भव भएको छैन।”
सिटी स्क्यान नहुँदा बिरामीले निजी अस्पतालमा महँगो शुल्क तिर्नु परेको छ। उपचार खर्च धान्न नसक्ने कतिपय विपन्न बिरामी भने अस्पतालमै उपचार नपाएर फर्किन बाध्य भएका छन्।
बर्दिया घर भएका ५५ वर्षीय भरत चौधरीले भन्नुभयो,
“सडक दुर्घटनापछि राति भेरी अस्पताल ल्याइयो। तर यहाँ सिटी स्क्यान नभएको कारण प्राइभेटमा जानुपर्यो। त्यहाँ शुल्क तिर्न नसकेर आफन्तसँग ऋण माग्नुपर्यो। यो हालत कहिलेसम्म सहनुपर्ने हो?”
त्यसैगरी सुर्खेतकी ४० वर्षीया सीता थापा भन्नुहुन्छ,
“सिर दुखाइको समस्या लिएर आएँ, तर यहाँ सिटी स्क्यान नहुँदा काठमाण्डौ वा नेपालगन्जका निजी अस्पताल धाउनु पर्यो। गरीबले कहाँबाट खर्च धान्ने? सरकारी अस्पतालमै यस्तो सुविधा नहुँदा धेरै पीडा भोग्नुपरेको छ।”
अस्पताल प्रशासनले यथाशीघ्र सिटी स्क्यान सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएको छ। तर तत्काल कार्यान्वयन नभएसम्म पश्चिम नेपालको विपन्न वर्गका बिरामी उपचारमा निरन्तर समस्यामा पर्न बाध्य हुने देखिन्छ।