१०, असोज २०८२
जुम्ला ।दशैं नजिकिँदै गर्दा जुम्लाका विभिन्न बैंक शाखामा खुद्रा नोट सटहीमा अनियमितता भएको गुनासो बढ्दै गएको छ । स्थानीयहरूले बैंकका कर्मचारीहरू आफन्त र चिनजानका व्यक्तिलाई मात्र प्राथमिकता दिँदै सुकिला नोट साटिदिने र सामान्य सर्वसाधारणलाई “नोट छैन” भन्दै फर्काउने गरेको आरोप लगाएका छन् ।
विशेष गरी जुम्ला बजारस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखाविरुद्ध धेरै गुनासो आएका छन् । दशैंमा पूजा–पाठ र खर्चका लागि आवश्यक सुकिला नोट सहजै उपलब्ध हुनुपर्ने भए पनि बैंकभित्रै कर्मचारीले मनपरी गर्दै आफ्नै परिचितलाई प्राथमिकता दिएको नागरिकको आरोप छ ।
एक पीडितले गुनासो गर्दै भने, “हामी सर्वसाधारणलाई पटक–पटक लाइनमा उभ्याउँछन् तर अन्ततः नोट सकियो भनेर फर्काइदिन्छन् । तर, कर्मचारीका आफन्तहरू भने सजिलै सटही गरेर जान्छन् ।”
यसरी दशैं नजिकिँदै गर्दा नोट सटहीमा पारदर्शिता नदेखिनुले सर्वसाधारणमा असन्तोष बढ्दै गएको छ । स्थानीयहरूले बैंकले तत्कालै समान पहुँच सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।
जुम्लाको राष्ट्रिय वाणिज्य बैंक मात्र नभई अन्य बैंकहरूले समेत यस्तै प्रवृत्ति देखाउने गरेको स्थानीयको गुनासो छ । उनीहरूका अनुसार समयमा सचेतता नअपनाए दशैंमा सर्वसाधारण अझै समस्यामा पर्ने सम्भावना छ ।
मुख्य प्रश्न भने उहीँ छ — दशैंको रौनकमा सबै नागरिकलाई समान रूपमा खुद्रा नोट उपलब्ध गराउने कि केवल कर्मचारीका आफन्तलाई मात्र विशेषाधिकार दिने? यही विषयले अहिले जुम्लामा असन्तोष चुल्याएको छ ।