दशैं–तिहारमा बाँके प्रहरीले विशेष सुरक्षा योजना लागू, ११ सय प्रहरी परिचालन

  • नमस्ते कर्णाली

  • १०, असोज २०८२
    बाँके । दशैं र तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा जिल्लामा सुरक्षालाई चनाखो बनाइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना लागू गर्दै ११ सय प्रहरी परिचालन गरेको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार चाडपर्वमा हुन सक्ने चोरी, ठगी तथा अन्य अपराधजन्य घटनालाई रोकथाम गर्न नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका क्षेत्रमा मोबाइल र पैदल गस्ती तीव्र पारिएको छ। उनले भने, “सर्वसाधारणलाई सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण बनाउने र ‘हामी सुरक्षित छौँ’ भन्ने अनुभूति गराउन गस्ती बढाइएको हो।”

    सुरक्षा योजनाअन्तर्गत भारतबाट फर्किएका नेपालीलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न नाकामा विशेष व्यवस्था मिलाइएको छ। बसपार्क तथा प्रमुख नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ भने आवश्यकता अनुसार ड्रोन क्यामेराबाट पनि निगरानी सुरु गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीले चाडपर्वका बेला होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने कार्यलाई सह्य नगर्ने चेतावनी दिएको छ। साथै, सवारी साधन चेकजाँचलाई कडाइ गर्दै संयुक्त रूपमा नेपाल प्रहरी र ट्राफिक प्रहरीले अनुगमन सुरु गरेका छन्। डीएसपी पातलीका अनुसार, तीव्र गति, ट्राफिक नियम उल्लंघन वा मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकलाई तत्कालै कारबाही गरिने छ।

    यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले सुरक्षा योजनाअन्तर्गत ७५ जना ट्राफिक प्रहरी परिचालन गरिएको जानकारी दिए। उनले भने, “लागू पदार्थ सेवन, मादक पदार्थ सेवन तथा क्षमताभन्दा बढी यात्रु बोकेको अवस्थामा कारबाही हुन्छ। लामो दूरीमा चल्ने सवारीसाधनमा दुई जना चालक भए नभएको समेत जाँच भइरहेको छ।”

    चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले दुर्घटनाको जोखिम न्यूनिकरण गर्न ट्राफिक र जनपद प्रहरीलाई प्रमुख सडक खण्डमा खटाइएको छ। सुरक्षा निकायले नागरिकलाई सजग रहनुका साथै आफैंले पनि नियम पालना गरी सुरक्षित र खुसीपूर्वक चाडपर्व मनाउन आग्रह गरेका छन्।

  • १० आश्विन २०८२, शुक्रबार ०६:४३ प्रकाशित

  • Nabintech