११, असोज २०८२
जुम्ला ।नेपालीहरूको महान् चाड बडादसैं नजिकिँदै गर्दा जुम्लाका गाउँ–शहरहरू उल्लास, चहलपहल र व्यस्तताले भरिएका छन्। वर्षभरिको मेहनतपछि विश्राम लिने, परिवारसँग मिलन गर्ने र मौलिक संस्कृतिमा रमाउने अवसरका रूपमा दशैंलाई लिने परम्परा अझै जीवित छ। यही कारणले रोजगारी, अध्ययन वा व्यापारका सिलसिलामा बाहिर रहेका जुम्लेलीहरू आफ्ना गाउँ फर्किन थालेका छन्।
सदरमुकाम खलंगा बसपार्कमा दैनिक सयौँ यात्रुको भीड देखिन्छ। कतिपय यात्रुले टिकट पाउन गाह्रो भइरहेको गुनासो गरेका छन्। “तीन दिनदेखि लाइनमा बसेको छु, अझै टिकट पाएको छैन,” पोखरातर्फ फर्कन लागेका एक यात्रुले भने। बसको संख्या कम र भीड धेरै भएकाले यात्रुहरू समस्यामा परेका छन्।
यात्रुहरूसँगै बजार पनि चहलपहलले गुञ्जिएको छ। नयाँ कपडा, चप्पल, श्रृंगार सामग्रीदेखि मिठाईसम्मका सामान किनमेल गर्नेको भीड बजारका पसलहरूमा छ। व्यापारीहरू नयाँ सामान भित्र्याएर उत्साहित छन्। “गाउँका ग्राहकले धेरै मन पराउँछन्, दशैंमा कारोबार राम्रो हुने अपेक्षा छ,” स्थानीय व्यापारीले भने।
कनकासुन्दरी गाउँपालिकाकी सृजना रावत एक वर्षपछि घर फर्कने उत्साहमा छिन्। “दसैंमा आमा–बुबा, दाजुभाइ र साथीभाइ सबै भेटिन्छन्, गाउँकै जमघटमा रमाइलो हुन्छ,” उनले भनिन्। यस्तै सुर्खेतकी करुणा बुढाथोकीले पनि गाउँमै दशैंको आत्मीयता बढी हुने बताइन्। “शहरमा रौनक देखिए पनि गाउँमा जमरा, सयपत्रीको माला र टीकाको टल्काउने निधारको मजा फरक हुन्छ,” उनले उत्साह व्यक्त गरिन्।
सिंजा, नराकोट, रारालिही, तातोपानी, पातारासी, गुठिचौरलगायतका स्थानहरूमा किनमेल गर्नेको भिड बाक्लिँदै गएको छ। बजारको यो सक्रियताले दशैंको रंग अझै गाढा बनाएको छ।
यता, दशैंमा हुनसक्ने अपराध, दुर्घटना वा विकृति नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। डिएसपी रबिन बाबु रेग्मीका अनुसार “बजार क्षेत्रमा २४ घण्टा प्रहरीको उपस्थिति रहनेछ। सशक्त गस्ती, निगरानी र अप्रेशन योजनासहित अघि बढेका छौं।” जुवातास, मादक पदार्थ सेवन, घरेलु हिंसा वा अन्य सामाजिक अपराधलाई कडाइका साथ नियन्त्रण गरिने बताइएको छ।
यसै क्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयले असोज ६ गतेदेखि कात्तिक १० गतेसम्म लागू हुने गरी ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ अन्तर्गत ३ हजार ९ सय ८ जना प्रहरी परिचालन गर्ने निर्णय गरेको छ।
जुम्लामा दशैं केवल चाड मात्रै होइन, भावनात्मक पुनर्मिलन हो। घर फर्किनेको ओइरो, बजारको व्यस्तता, सुरक्षाकर्मीको गस्ती र सांस्कृतिक रौनक मिलेर दशैंलाई अझै रंगीन बनाइरहेका छन्। परिवारसँगको आत्मीय भेटघाट, आशीर्वाद, जमराको माला र उत्सवको उमङ्गले अहिले जुम्लाका गाउँघर र अनुहारहरूमा खुशीको मुस्कान झल्किएको छ।