दशैंको मुखमै आन्दोलन र सिमापारीको आकर्षणले नेपालगन्जको व्यापार ठप्प: व्यवसायी निराश

  • नमस्ते कर्णाली

  • ११, असोज २०८२

    बाँके । दशैं नजिकिँदै गर्दा पश्चिम तराईको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्जका बजारमा ग्राहकको चहलपहल त बढ्दै छ, तर कारोबार भने सुस्त भएको व्यवसायीहरूको गुनासो छ। दैनिक उपभोग्य वस्तु, लत्ता–कपडा, जुत्ता–चप्पलदेखि चाडपर्वमा प्रयोग हुने अन्य सामग्री किन्न बजार पस्ने भीड बढे पनि वास्तविक कारोबारमा भने गिरावट आएको व्यापारीहरू बताउँछन्।

    नेपालगञ्जका व्यवसायी दिनानाथ शर्मा भन्छन्, “पहाडी जिल्लाबाट हरेक वर्ष दशैंका लागि सामान किन्न व्यवसायीहरू नेपालगञ्ज आउँथे। तर यसपालि आन्दोलनका कारण बाहिरका ग्राहक नै आएनन्। बजारमा भीड छ तर किनमेल छैन। दशैंको व्यापार शून्य जस्तै बनेको छ।”

    नेपालगञ्ज सधैं सीमावर्ती बजार भएकाले रुपैडियासँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति रहँदै आएको थियो। सीमा पारी भारतको रुपैडियामा सामान सस्तो पाइने भएकाले धेरै उपभोक्ता उतै जाने गरेका छन्। यसले विगतदेखि नै यहाँको व्यापारमा कमी ल्याएको भए पनि यस वर्ष जेन्जी आन्दोलनले थप संकट थपिदिएको व्यवसायीहरूको भनाइ छ।

    व्यवसायी अस्लम हलुवाई भन्छन्, “हामीलाई त घरभाडा तिर्ने, स्टाफको तलब दिनेसम्म गाह्रो भएको छ। दशैंमा व्यापार हुने भन्ने आशा थियो तर आन्दोलनले सबै बिगार्‍यो। व्यापारी मात्र होइन, मजदुरदेखि ठेला चलाउनेसम्म सबै प्रभावित भएका छन्।”

    दशैंको मुखमै परेको आन्दोलनले सामान आयात–निर्यातमा समेत ठूलो असर पारेको व्यवसायीहरूको तर्क छ। यसले गर्दा उपभोक्ताले चाहेका सामान समयमै बजारमा नपुग्दा बिक्री अझ घटेको छ।

    नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी भन्छन्, “व्यवसायीहरू अहिले निराश छन्। आन्दोलनले ठूलो नोक्सान भएको छ। सरकारले निजी क्षेत्रलाई हौसला दिन तर्फ ध्यान दिनुपर्छ। व्यापार पुनःस्थापना गर्न सहुलियत र सहयोग आवश्यक छ।”

    त्यस्तै, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले भने, “व्यवसायीहरूलाई तत्काल राहत दिनुपर्ने आवश्यकता छ। सरकारले संवादमार्फत समस्या समाधान गरेर बजार सुचारु बनाउन कदम चाल्नुपर्छ। निजी क्षेत्रलाई बेवास्ता गरिँदा आर्थिक संकट अझ गहिरिँदै जान्छ।”

    लामो समयदेखि कोरोना महामारी र विश्वव्यापी व्यापार मन्दीको असरले उपभोक्ताको क्रय क्षमता नै घट्दै गएको अवस्थामा आन्दोलन थपिएको छ। यसले दशैं जस्तो पर्वमा समेत बजारमा खुशी ल्याउन सकेको छैन।

    व्यवसायीहरूका अनुसार, नेपालगञ्जमा मात्र होइन, बाँके र आसपासका बजारमा समेत यो असर व्यापक छ। उपभोक्ता सस्तो पाइने अपेक्षामा सिमापारी रुपैडिया जाने क्रम बढेकाले नेपालगञ्जका व्यापारी अझै संकटमा छन्।

    यसैबीच, व्यवसायीहरूले सरकारले ठोस नीति ल्याउनुपर्ने माग गरेका छन्। उनीहरूको भनाइमा, स्वदेशी उत्पादन प्रवर्द्धन, भन्सार नियमनमा कडाइ, चाडपर्वका बेला सहुलियत दिने कार्यक्रम र सिमापारीको अनियन्त्रित व्यापारलाई नियन्त्रण गर्न जरुरी छ।

    व्यवसायी दिनानाथ शर्मा भन्छन्, “यदि सरकारले ध्यान नदिए नेपालगञ्जको व्यापार थप अस्तव्यस्त हुन्छ। हामी पुर्खैदेखि व्यापार गर्दै आएका छौँ, तर यस्तो अवस्था कहिल्यै देखेका थिएनौँ।”

    नेपालगञ्जको चहलपहल यस वर्ष व्यापारमा परिणत हुन नसक्दा व्यापारी मात्र नभई मजदुर, सहायक कर्मचारी र परिवहन व्यवसायी पनि मारमा परेका छन्। दशैंको रमझम बजारमा देखिए पनि व्यवसायीको अनुहारमा भने चिन्ताको रेखा बढ्दै गएको छ।

  • ११ आश्विन २०८२, शनिबार १३:०८ प्रकाशित

  • Nabintech