कर्णालीमा गोहीको आक्रमणपछि २५ वर्षीय युवक ६ दिनदेखि बेपत्ता

  • नमस्ते कर्णाली

  • १२, असोज २०८२
    बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–२ राजीपुरका २५ वर्षीय विवश थारू गत सोमबार गोहीको आक्रमणपछि कर्णाली नदीमा बेपत्ता भएका छन् । भैंसीलाई पानी खुवाउन नदी किनारमा पुगेका थारूलाई गोहीले आक्रमण गरेको बताइए पनि उहाँको अवस्था अहिलेसम्म अज्ञात छ ।

    बेपत्ता थारूको खोजीका लागि निकुञ्जले दुईवटा हात्ती र मोटरबोट परिचालन गरेको छ । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निकुञ्ज कर्मचारी तथा स्थानीयवासी सक्रिय छन् । उनले भने, “विवश थारूको अवस्था अहिलेसम्म अज्ञात छ, हामी निरन्तर खोजीमा जुटिरहेका छौं ।”

    थारूसँगै गएका अन्य तीन जना भने सकुशल फर्किएका छन् । स्थानीयवासीले घटनापछि नदी किनारमा त्रास बढेको बताएका छन् । “हामी दैनिक नदीमा पशुलाई पानी खुवाउन जान्छौं, तर अहिले डरले सहज छैन,” एक स्थानीयले भने ।

    बर्दियाको गेरुवा, कर्णाली, बबई लगायतका नदीमा गोहीको प्रमुख बासस्थान रहेको छ । यस्ता घटना दोहोरिन नदिन निकुञ्जले नदीमा अनावश्यक प्रवेश नगर्न आग्रह गर्दै आएको छ । तर पनि स्थानीयवासी दैनिक जीवनका कारण नदी छेउमा पुग्न बाध्य हुने बताउँछन् ।

    उद्धार टोलीले खोजी कार्यलाई अझै तीव्र पारेको छ । तर ६ दिन बितिसक्दा पनि थारूको पत्ता नलाग्दा परिवार र गाउँमा पीडा छाएको छ । परिवारका एक सदस्यले भने, “हामी आशामा छौं, तर दिनदिनै निराशा बढ्दै गएको छ ।”

    कर्णाली नदी आसपासमा यसअघि पनि गोहीको आक्रमणका घटनाहरू घटिरहेका छन् । विशेषज्ञहरूले गोहीको बासस्थान नजिक पशु तथा मानिसलाई सावधानी अपनाउन र स्थानीय समुदायलाई थप जनचेतना कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

     

  • १२ आश्विन २०८२, आईतवार ०८:३५ प्रकाशित

  • Nabintech