१३, असोज २०८२
बाँके ।दशैं नजिकिँदै गर्दा नेपालगञ्जमा मासुको माग उच्च भएपछि सीमा पारीबाट कुखुराको अवैध आयात तीव्र बनेको छ। हालैको जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीहरू सुरक्षा व्यवस्थापनमा केन्द्रित भइरहेका बेला रुपैडिहा नाकाबाट तस्करीको गतिविधि झन् बढेको पाइएको हो।
भारतका विभिन्न सहरमा बर्डफ्लु देखिएपछि नेपाल सरकारले भारतबाट कुखुराको मासु तथा जिवित कुखुरा ल्याउन प्रतिबन्ध लगाएको छ। तर, खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले दैनिक साइकल, मोटरसाइकल र गाडीमार्फत कुखुराको मासु भित्र्याइरहेका छन्। यसरी अवैध रुपमा आउने कुखुराले बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको छ।
स्थानीयवासीका अनुसार यस्तो तस्करी प्रायः राति वा बिहानको समयमा बढी हुने गरेको छ। यद्यपि, पछिल्लो समय शान्ति सुरक्षा सामान्यतर्फ फर्किँदै जाँदा प्रहरीले नाकामा निगरानी कडाइ गरेको छ। यस क्रममा अवैध कुखुरासहित मानिसहरूलाई नियन्त्रणमा लिन थालिएको छ।
यस्तै, आइतबार मात्रै नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा प्रहरीले २५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध ब्रोइलर कुखुरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार, जमुनाहका गणेश कबडीयाले साइकलमार्फत ल्याउँदै गरेका ४० वटा ब्रोइलर कुखुरा नियन्त्रणमा लिइएका हुन्। बरामद कुखुराको अनुमानित मूल्य २५ हजार ६०० रुपैयाँ रहेको उहाँले बताउनुभयो।
बरामद गरिएका कुखुरा तथा साइकलसहित कबडीयालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज पठाइएको पनि प्रहरी प्रवक्ता पातलीले जानकारी दिनुभयो। साथै उहाँले नाकामा निगरानी कडाइ गरिएको र गस्ती बढाइएकाले अवैध कुखुराको आयात नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो।