१३, असोज २०८२
बाँके।दसैँजस्तो महान् चाडलाई अवसर बनाएर बाँकेको कोहलपुर नगरपालिका–३ मैटहवामा आइतबार विशेष कार्यक्रम सम्पन्न भयो। सहकर्मी समाज कोहलपुरको प्राविधिक सहयोग, त्रिवेणी विकास समाज कोहलपुरको सहकार्य र चेतना समूह, पर्यावरणीय कृषिका लागि वडास्तरीय युवा सञ्जाल तथा थारु युवा क्लबको संयुक्त आयोजनामा ‘पोषण मेला’ र सांस्कृतिक कार्यक्रम गरियो। यस कार्यक्रमले दसैँको शुभकामना आदानप्रदानसँगै रैथाने उत्पादनको संरक्षण, प्रवर्धन र थारु समुदायको सांस्कृतिक धरोहरलाई एकैसाथ प्रस्तुत गर्यो।
कार्यक्रममा थारु समुदायका महिला–पुरुष र युवायुवतीहरुले आफ्ना जातीय भेषभूषामा सजिएर सचेतनामूलक गीत र नृत्य प्रस्तुत गरे। गीत–संगीत र नृत्यमार्फत पोषणको महत्व र सांस्कृतिक पहिचानलाई प्रस्ट्याउने काम गरियो। विशेषगरी थारु भेषभूषामा सजिएका युवायुवतीको प्रस्तुतिले दर्शकमाझ परम्परागत संस्कृतिको जीवन्तता झल्काएको थियो।
आयोजक चेतना समूहकी अध्यक्ष बजरी थारुले दसैँ केवल चाड–पर्वको उत्सव मात्र नभई समाजमा सचेतना फैलाउने अवसर पनि भएको बताइन्। “आफ्नो जातीय पहिचान, संस्कार र संस्कृति प्रस्तुत गर्ने मौका यस कार्यक्रमले दिएको छ। साथै, पोषणका बारेमा जानकारी फैलाउन र समाजलाई सचेत बनाउन हामीले पोषण मेला आयोजना गरेका हौँ,” उनले भनिन्।
थारु समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका अर्गानिक रैथाने उत्पादन पनि मेलामा प्रदर्शन गरिएको थियो। मुला, साग, मेवा, फर्सीका मुन्टा, गाजर, घिरौँला, केरा, गोभी, लौका, कागती, उखु, काँक्रा जस्ता दैनिक खानपानका पोषक तत्वजन्य अन्नबाली र जिउँदो माछा समेत मेलामा देखाइयो। यसले गाउँघरमा उब्जनी हुने रैथाने उत्पादन स्वास्थ्यसँग कति नजिक छ भन्ने सन्देश दिएको छ।
अध्यक्ष बजरी थारुले पछिल्लो पुस्ताले रैथाने उत्पादनको महत्व बिर्सिँदै गएको भन्दै चिन्ता व्यक्त गरिन्। “रैथाने उत्पादन हाम्रो जीवनसँग गहिरो सम्बन्धित छ। यदि यसको संरक्षण भएन भने भावी पुस्ताले यसको महत्व नै बुझ्न सक्दैन। यसैले यसलाई संरक्षण र प्रवर्धन गर्नु समयको आवश्यकता हो,” उनले जोड दिइन्।
सामुदायिक जिन बैंक गाभर भ्यालीका अध्यक्ष पुरमल बस्नेतले पोषण मेलालाई अत्यन्तै सकारात्मक पहलको रूपमा लिए। उनका अनुसार, चाड–पर्वको अवसरमा शुभकामनासँगै यस्ता सामाजिक सन्देश दिने कार्यक्रमले समुदायमा जागरण ल्याउँछ। “थारु समुदायको सांस्कृतिक प्रस्तुति र पोषण मेला केवल थारु समुदायका लागि मात्र नभई सम्पूर्ण समाजका लागि प्रेरणादायी छ,” उनले भने, “हरेक समुदायले आफ्ना चाडवाडसँगै रैथाने उत्पादनको महत्वबारे सचेतना फैलाउने खालका कार्यक्रम गरेमा समाजमा ठूलो सकारात्मक प्रभाव पर्छ।”
यसरी दसैँ पर्वको रमाइलोपनसँगै बाँकेको मैटहवामा आयोजना गरिएको पोषण मेलाले सांस्कृतिक पहिचानलाई जगेर्ना गर्ने मात्र नभई पोषक आहाराको महत्वबारे सचेतना फैलाउने काम गरेको छ। यसले थारु समुदायको परम्परा र संस्कृतिको संरक्षणसँगै सम्पूर्ण समाजमा रैथाने उत्पादनको आवश्यकता र महत्वबारे बलियो सन्देश दिएको छ।
यसरी, दसैँको उमङ्गमा सजिएको बाँकेको पोषण मेलाले सांस्कृतिक मनोरञ्जनसँगै स्वास्थ्य, पोषण र मौलिक उत्पादनको जगेर्ना गर्ने अनौठो संयोजन प्रस्तुत गर्यो, जसले समुदायमा चाड–पर्वको वास्तविक अर्थलाई अझै गहिरो बनाइदिएको छ।