हुम्लामा घाँस काट्ने क्रममा भीरबाट लडेर युवा महिलाको मृत्यु

  • नमस्ते कर्णाली

  • १५, असोज २०८२

    हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–२ उनापानीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मंगलबार बेलुकी घाँस काट्दै गर्दा भीरबाट लडेकी २४ वर्षीया धिक्क फडेराको घटनास्थलमै मृत्यु भएको हो।

    घाँस काट्ने क्रममा चिप्लिएर धिक्क गम्भीर घाइते भएकी थिइन्। उनलाई उनका श्रीमान् अमृत फडेराले घटनास्थलबाट बोकेर घरतर्फ लैजाँदै गर्दा बाटोमै ज्यान गएको परिवारले जनाएको छ।

    घटनाको समय श्रीमान्–श्रीमती दुवै जना जंगल गएका थिए। गोरु लगाउन केही दुरी टाढा रहेका श्रीमान् अमृत फर्किँदा श्रीमती भीरबाट लडेर घाइते भइसकेकी थिइन्।

    उक्त क्षेत्रमा सञ्चार सेवा सुविधा नहुँदा समयमै उपचारको व्यवस्था मिलाउन कठिनाइ भएको स्थानीयवासीले बताएका छन्। त्यहाँबाट नजिकैको सर्केगाड स्वास्थ्य चौकी पुग्न पैदल तीन घण्टा लाग्छ भने जिल्ला अस्पतालसम्म पुग्न पनि चारदेखि पाँच घण्टा गाडीमा यात्रा गर्नुपर्ने बाध्यता छ।

    दुर्गम भौगोलिक अवस्थाका कारण समयमा उपचार नपाउँदा धिक्कको ज्यान गएको स्थानीयले बताएका छन्। ग्रामीण भेगमा स्वास्थ्य सुविधा र यातायात पहुँच नहुँदा यसप्रकारका दुःखद घटना दोहोरिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

  • १५ आश्विन २०८२, बुधबार १४:४९ प्रकाशित

  • Nabintech