जङ्गलमै बेहोस भइन् सुत्केरी, पत्रकार र स्थानीयको काँधमा बाँच्यो दुई जीवन

  • नमस्ते कर्णाली

  • २६, असोज २०८२

    जुम्ला ।जुम्लाको दुर्गम सिंजा गाउँपालिका–६ जोडुगाउँकी २३ वर्षीया अमला बुढा (शाही) दशैंअघिको दिन जङ्गलमै बेहोस भइन्। करिब एक महिनाअघि खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो सन्तान जन्माएकी उनी दशैं मनाउन श्रीमान् कर्णबहादुर बुढासँग गाउँ फर्किँदै थिइन्।

    खलंगाबाट जोडुगाउँ पुग्न करिब ५–६ घण्टाको पैदल यात्रा गर्नुपर्छ। घना जङ्गल, उकालो–ओरालो र चट्टानी बाटो पार गर्दै नवजात शिशुसहित हिँडिरहेकी अमलालाई अचानक शारीरिक समस्या देखियो—आँखा धमिलो, शरीर काम्ने, रगत बग्ने, रिंगटा लाग्ने। केही बेरमै उनी बेहोस भइन्।

    “घना जंगलको बीचमै श्रीमती बेहोस भइन्, म लाचार भएँ,” श्रीमान् कर्णबहादुर सम्झन्छन्।
    त्यो बेला उनको हातमा दुई झोला, एक महिनाको शिशु र बेहोस श्रीमती। एक्लैले सबै सम्हाल्न गाह्रो थियो।

    सोही क्रममा त्यही बाटो हुँदै गइरहेका पत्रकार गोल्डेन बुढाविवेन्द्र नेपाली, साथै स्थानीय केही व्यक्ति त्यहाँ आइपुगे। “बेहोस श्रीमतीलाई पानी चुहाएर होसमा ल्यायौं। विवेन्द्रले अमलालाई पिठ्युँमा बोके, म आफैंले शिशुलाई बोकेँ,” पत्रकार गोल्डेनले घटनाको सम्झना गरे।

    अमलाको अवस्था सुधार नभएपछि कर्णबहादुरका आफन्तले स्ट्रेचर लिएर आए र उनलाई तलको भाडगाउँ पुर्‍याइयो। त्यहाँ एक रात बिताएपछि भोलिपल्ट आधा घण्टा उकालो चढेर उनीहरू आफ्नै घर पुगे।

    “सुत्केरी भएर यस्तो कठिन बाटो हिंड्नुपर्ने बाध्यता छ। दशैं मनाउन गाउँ आउनु नै जीवनको जोखिम बन्ने अवस्था छ,” कर्णबहादुरले दुखेसो गरे।

    सडक नपुगेका कारण जुम्लाका सयौं नागरिक अझै पनि स्वास्थ्य, यातायात र सेवाबाट टाढा छन्। “यदि सडक सञ्जाल जोडिएको भए यस्तो पीडा हुँदैनथ्यो,” पत्रकार गोल्डेनले भने।

    अस्पताल पुग्ने बाटोमा एम्बुलेन्स चल्दैन। त्यसैले अमलाले सुत्केरीपछि खलंगामा महिनाभर कोठा भाडामा लिएर बस्नुपर्‍यो। “महिनाको दुई हजार पाँच सय रुपैयाँ भाडा तिर्नु थियो, काम छैन, खर्च बढ्दै गइरहेको थियो,” श्रीमान् कर्णबहादुरले बताए।

    खलंगाबाट जोडुगाउँ पुग्ने बाटो तलिउम, जातिभिड, छकलेपानी हुँदै जाने उकालो–ओरालो, चिसो र जङ्गलले भरिएको खतरनाक पैदल यात्रा हो।

    “एक मिनेट ढिला भएको भए के हुन्थ्यो, कल्पना गर्नै सक्दिनँ,” अमला भन्छिन्, “दशैंको मुखमा आफ्नै घर पुग्ने आशा हराइसकेको थियो।”

    यो घटना केवल अमला बुढाको व्यक्तिगत पीडा होइन, दुर्गम नेपालका सयौं आमाहरूको साझा कथा हो। जहाँ सुत्केरी, बिरामी, वृद्धवृद्धा र बालबालिकाले आधारभूत स्वास्थ्य सेवा पाउन ज्यान जोखिममा राख्नुपर्छ।

    पत्रकार गोल्डेन बुढा भन्छन्, “यो केवल पीडाको कथा होइन, मानवताको पनि कथा हो—जहाँ केही मानिसहरू काँधमा जीवन बोकेर पहाड चढिरहेका थिए।”

     

  • २६ आश्विन २०८२, आईतवार १८:११ प्रकाशित

  • Nabintech